पर्वत, माघ ५ गते ।जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो ।
द्वन्द व्यवस्थापनपछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराएको छ ।
आगामी निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार इजाजत प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् उहाँहरूलाई नै फिर्ता गर्नेगरी हातहतियार धनीहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरूसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू माघ २० गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रूपमा बुझाउन आग्रह गरेको उहाँको भनाइ छ ।
हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नवीकरणको यथेष्ट तथ्याङ्क भने छैन ।
नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नविकरणको विवरण अद्यावधिक हुन नसकेको कार्यालयले जनाएको छ ।
समयमै हातहतियार नबुझाउनेहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने चेतावनी पनि प्रशासनले दिएको छ । रासस