• ५ माघ २०८२, सोमबार

जुनियर टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण

blog

राष्ट्रिय जुनियर टेनिसमा पदक विजेताहरु ।

काठमाडौँ, माघ ५ गते । सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जित्नुभएको छ । 

सोनाम यु–१० ब्वाइज सिंगल्स, सारा यु–१२ गर्ल्स सिंगल्स र विश्व यु–१४ ब्वाइज सिंगल्समा च्याम्पियन बन्नुभयो । फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठ नगरपालिकास्थित च्यासिन्डोलमा भएको यु–१० ब्वाइज सिंगल्स फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्नुभयो । 

यु–१२ गर्ल्स सिंगल्स फाइनलमा साराले आर्या पौडेललाई ६–१ र ६–० ले सहजै हराउनुभयो। साराको यो दोस्रो व्यक्तिगत स्वर्ण हो । साराले यु–१४ गर्ल्स सिंगल्समा पनि स्वर्ण जित्नुभएको थियो । 

यु–१४ ब्वाइज सिंगल्स फाइनलमा अर्याशराज पौडेल रिटायर्ड हर्ट भएपछि विश्व विजेता बन्नुभयो । तेस्रो सेटमा विश्व १–० ले अगाडि रहेको अवस्थामा अर्याश रिटायर्ड हर्ट हुनुभएको हो । 

अन्तिम दिननै यु–१६ ब्वाइज सिंगल्समा साङ्गे रोकाया विजेता बन्नुभयो । साङ्गेले फाइनलमा असभसम्राट हाडाबाट वाक ओभर पाउनुभयो । 

नेपाल टेनिस सङ्घको स्वीकृतिमा भएको प्रतियोगितामा एक डबल्ससहित १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वस्तिका विष्ट यु–१६ र यु–१८ गर्ल्स सिंगल्समा च्याम्पियन बन्नुभयो ।

यु–८ सिंगल्सको ब्वाइजमा सर्वज्ञजंग खत्री र गल्र्समा भानी राजभण्डारी, यु–१८ ब्वाइज सिंगल्समा आयुशमान हजुर घले, यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठ, यु–१० गर्ल्स सिंगल्समा निम्ति कुँवर, यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल तथा ब्वाइज डबल्सम दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडी च्याम्पियन बन्नुभएको थियो । आरितसँगै सारा र सोनाम आयोजक फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीका हुनुहुन्छ । 

विजेतालाई नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुल, प्रतियोगिता संयोजक कृष्णराज घले, टेनिसका नेपाल नम्बर वान प्रदीप खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । पाँचदिने प्रतियोगितामा १ सय ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।