शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
दाङ, माघ ५ गते । नेकपा (एमाले) ले दाङ क्षेत्र २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयनपत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ ।
यसअघि बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेको थियो । सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेको हो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी हुनुभएका पोखरेल त्यस यता क्षेत्रको प्रतिनिधित्व गर्दै आउनुभएको छ । २०७४ सालको निर्वाचनमा उहाँ यसै क्षेत्रअन्तर्गत प्रदेशसभा १ बाट विजयी भई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।