• ५ माघ २०८२, सोमबार

नेकपाका नेता देव गुरुङ मनाङबाट उठ्ने

blog

देवप्रसाद गुरुङ

नवीनराज कुइँकेल
लमजुङ, माघ ५ गते ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता देवप्रसाद गुरुङ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट उम्मेदवारी दिने हुनुभएको छ । साबिक नेकपा माओवादी केन्द्रका महासचिव समेत रहनुभएका गुरुङलाई नेकपाले हिमाली जिल्ला मनाङबाट उम्मेदवार बनाएको हो ।

विसं. २०७४ र २०७९ को निर्वाचनमा लमजुङबाट उठ्नुभएका गुरुङ १८ वर्षपछि गृह जिल्ला मनाङ फर्किनुभएको हो । मनाङको नासो गाउँपालिका–४ ओडार निवासी गुरुङ २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा मनाङ र कास्की–१ बाट विजयी हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्र विभाजन हुँदा मोहन वैद्यलाई साथ दिनुभएका उहाँले २०७० सालको दोस्रो संविधानसभाको चुनाव बहिष्कार गर्नुभएको थियो । तर २०७३ साल जेठ ६ गते रामबहादुर थापासहितको टोली माओवादीमा फर्किंदा गुरुङ पनिसँगै आउनुभयो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबिच तालमेल हुँदा गुरुङ लमजुङबाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गर्नुभएका गुरुङ २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङसँग पराजित हुनुभएको थियो ।

२०३८ सालमै नेकपा मसालको केन्द्रीय सदस्य बन्नुभएका गुरुङ २०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । त्यसपछि २०४७ सालमा पार्टी एकतापछि नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बन्नुभयो । गुरुङ २०४८ सालमा संसदीय चुुनावमा भाग लिदए पनि असफल बन्नुभयो । बहुुदलपछि २०४८ सालको पहिलो आम निर्वाचनमा गुुरुङ संयुुक्त जनमोर्चा नेपालबाट लमजुुङ क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला उहाँ नेपाली कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित हुनुभयो ।

२०५१ सालमा तत्कालीन नेकपा माओवादी पार्टीको पोलिटब्यूरो सदस्यमा निर्वाचित गुरुङले २०५३ देखि २०५७ सालसम्म जेलजीवन बिताउनुभएको थियो । तत्कालीन सशस्त्र माओवादी युद्धकै क्रममा भूमिगत अवस्थामै उहाँ २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य हुनुहुन्थ्यो । २०६२ सालमा नेकपा माओवादीको तर्फबाट वार्ता टोलीको सदस्य हुनुभयो । दुई पटक सरकारमा पुग्ने मौका पाउनुभएका उहाँ स्थानीय विकास र कानुन मन्त्री बन्नुभएको थियो ।