• ४ माघ २०८२, आइतबार

थारू समुदायमा भलमन्सा चयनको चटारो

blog

कैलालीको फकलपुर गाउँको खोज्नीबोज्नीबाट भलमनसा चयन गरिदैँ ।

अविनाश चौधरी

धनगढी, माघ ४ गते । थारु समुदायमा भलमन्सा चयनको कार्य चटारो चलेको छ । गाउँको नेतृत्व गर्नका लागि भलमन्सा छानिन थालेको हो । 

माघ पर्वको अन्तिम दिनबाट यो समुदायमा भलमन्सा/बरघर चयनको कार्य थालिन्छ । यस कार्यलाई खोज्नीबोज्नी/भुराखेल भन्ने गरिन्छ । भलमन्सा चयनको कार्य माघ पर्वको अन्तिम दिननै गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आ–आफ्नो गाउँको समयानुकुल माघ महिनाभरी भलमन्सा चयनको कार्य गर्ने गरिन्छ । 

विगतदेखि माघ पर्वको अन्तिम दिन भलमन्सा चयन गर्दै आएका गाउँवासीहरूले भने माघ महिनाको सुरुवातमै नेतृत्व चयन गरेको थारू कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यबाहक सभापति माधव थारूले बताउनु भयो । 

भलमन्सा थारू समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरिका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ । 

भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँवासीमा रहने गर्दछ । तर, काम चित्त नबुझेमा गाउँवासी मध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्रै नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । 

गाउँमा भलमन्सासहित अघरिया (सहायक भलमन्सा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमन्साको सहायक हुन । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसैगरी, चौकीदारको भूमिका सन्देशबाहकको रूपमा रहने गर्दछ । चौकीदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् । यस्तै, गाउँमा फलाम कुटपिट गर्ने कामका लागि लोहार राख्ने चलन छ । चौकीदार र लोहारले पारिश्रमिक पाउने गरे पनि भलमन्सा, अघरिया, सचिवले निःशुल्क रूपमा काम गर्ने चलन रहेको छ । यद्यपि, पछिल्लो समय कतिपय गाउँमा यिनीहरूलाई पनि पारिश्रमिक दिने अभ्यास हुन थालेको छ । 

भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफल लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । 

कैलालीको गोदावरी नगरपालिका–८, फकलपुरको खोज्नीबोज्नीले यमबहादुर चौधरीलाई भलमनसा बनाएको छ । यसैगरी, चौकीदारमा गोपीलाल चौधरीलाई चयन गरिएको छ । यस्तै, कैलारी गाउँपालिका–५, जब्दहुवा गाउँमा भलमनसा ठग्गु चौधरी, सचिव दीपक चौधरी, अघरिया मिलाराम चौधरीलाई चयन गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित टेढुवा गाउँका भलमनसामा पुनः विक्रम चौधरी चयन हुनु भएको छ ।