अर्जुन काफ्ले
स्याङ्जा, माघ ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ५१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ४१८ सवारी चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लाको फेदीखोला, पुतलीबजार, आँधीखोला, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र मिर्मिस्थित ट्राफिक चेकपोष्टमार्फत राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
कुल सङ्कलित राजस्वमध्ये साउनमा एक हजार ४२३ सवारी चालकलाई कारबाही गरेर नौ लाख ९९ हजार र भदौमा एक हजार ३४४ सवारी चालकबाट १० लाख ५२ हजार राजस्व सङ्कलन भएको थियो । यस्तै असोज महिनामा ६१९ सवारी चालकलाई कारबाही गर्दा पाँच लाख ६५ राजस्व सङ्कलन भएको स्याङ्जाका ट्राफिक प्रहरी प्रमुख भुपेन्द्र प्रसाद गौलीले जानकारी दिनुभयो ।
त्यसैगरी कात्तिकमा ८४१ सवारी चालकलाई कारबाही गरेर सात लाख दुई हजार राजस्व सङ्कलन गरेको प्रहरीले मङ्सिरमा एक हजार १०२ सवारीबाट नौ लाख २४ हजार पाँच सय र पुस महिनामा एक हजार ७९ सवारी धनीलाई कारबाही गरेर नौ लाख १७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा पछिल्लो वर्ष राजस्व सङ्कलन घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आठ हजार ८५१ सवारी चालकलाई कारबाही गर्दा ट्राफिक प्रहरीले ६८ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो ।
ट्राफिक प्रहरीले राजस्व सङ्कलन गिरावट आउनुमा जेनजी आन्दोलन मुख्य कारण रहेको जनाएको छ । भदौ २३ र २४ गतेको आन्दोलन पछि राजमार्ग केन्द्रित चेकिङ् कार्य प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।