अमरराज नहर्की
तनहुँ, माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्नामा तोकिएको कोटा अझै अपुग भएको छ । जिल्लाका लागि निर्धारण गरिएको सङ्ख्या अनुसार आवेदन नपरेपछि भर्नाको म्याद दुई दिन थप गरिए पनि लक्ष्य भेट्टाउन नसकिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार सुरुमा माघ १ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । तर आवश्यक सङ्ख्यामा आवेदन नआएपछि समय सीमा बढाएर माघ ३ गतेसम्म पु¥याइएको थियो । तनहुँ जिल्लाका लागि एक हजार ७५२ जना निर्वाचन प्रहरीको कोटा निर्धारण गरेको छ । माघ १ गतेसम्म ३०१ महिला र १०२० पुरुष गरी कुल एक हजार ३२१ जनाले आवेदन दिएका थिए । म्याद थपिएपछि अन्तिम दिन (माघ ३ गते) सम्म यो सङ्ख्या बढेर एक हजार ४३३ पुगेको छ, जसमा ३२५ महिला र एक हजार १०८ पुरुष रहेका छन् । यो सङ्ख्या तोकिएको कोटा भन्दा अझै ३१९ ले कम हो ।
भर्ना केन्द्र र प्रक्रियाः आवेदकहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँका साथै इलाका प्रहरी कार्यालयहरू आँबुखैरेनी, बन्दीपुर, भानु र बेलचौतारामा आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको थियो । ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ बमोजिम भर्ना प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।
प्राथमिकता र मापदण्डः यस भर्नामा पूर्व सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा काम गरेका अनुभवी र २०८२ पुससम्म सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ । शारीरिक मापदण्डका लागि पुरुषको उचाइ न्यूनतम ५ फिट २ इञ्च र महिलाको ४ फिट १० इञ्च तोकिएको छ । आगामी कार्यतालिकाः प्रहरीका अनुसार आवेदकहरूको छनोट प्रक्रिया आगामी माघ ९ गतेभित्र सम्पन्न गरिनेछ भने सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि सुरु हुनेछ । आवेदन दिएका सम्पूर्ण उम्मेदवारहरूलाई आइतबार माघ ४ गते सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । तनहुँमा दुई निर्वाचन क्षेत्र रहेको छ ।