रामकृष्ण बोहरा
बागलुङ, माघ ४ गते । जिल्लाको ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेपनि ३० हजार हेक्टरमा मात्र खेती गरिएको छ । बसाइसराइ र सिँचाइ अभावले १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने २५ प्रतिशत जमिन मात्र सिँचाइ योग्य छ ।
कृषि क्षेत्रको रुपान्तरण र व्यवसायिकीकरण सम्बन्धी अन्तरसंवादमा सरोकारवालाले सुझाव दिँदै भन्नुभयो, ‘‘उत्पादन बढाउन सिँचाइका योजना बढाउनुपर्छ ।’’ कार्यक्रममा बागलुङ नगरपालिकाको तर्फबाट ज्ञानेन्द्रराज पन्त र रामचन्द्र गौतमले जिल्लाको कुल खेतीयोग्य जमिनको अवस्था, कृषि उत्पादन र अबको आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेले किसानभन्दा गर्व गर्न लायक बन्नुपर्ने बेला आएको बताउनुभएको थियो । उहाँहरुले किसानलाई हेर्ने दृष्टी राज्यले स्तरीय बनाउनुपर्ने र त्यसका लागि नीति तथा योजना आयोग सोही प्रकृतिको कार्यक्रम बनाउन तयार रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी उत्पादनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीको धारणा थियो । प्रतिकेजी सुन्तला वा धान उत्पादन गर्दा कति लागत लागेको छ ? कति नाफा कमाउने ? भन्ने हिसाब नगरी मूल्य निर्धारण गर्ने पद्दती नै घातक भएको बताउँदै रेग्मीले भन्नुभयो, ‘‘हरेक किसान व्यवसायिक बनेर निर्यातमुखी उत्पादन गर्ने र आयात प्रतिस्थापन गर्ने काममा सक्रिय बन्नुपर्छ ।’’
किसानको कृषि रुपान्तरण तथा व्यवसायिकीकरण सरोकार अभियानको आयोजना र कृषि मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा किसानले वर्तमान उत्पादनको अवस्था र बजारबारे बोल्नुभएको थियो । अगुवा किसान नारायण पौडेलले किसानलाई हेर्ने दृष्टीकोण फेर्ने, सल्लोभन्दा उत्पादन दिने बिरुवा रोप्न राज्यलाई सुझाव दिनुभयो । वरपिपल, चिउरी र बडहर रोप्न सकेमा बाँदर आतंक पनि कृषिमा नपर्ने उहाँको भनाइ थियो ।
युवा अगुवा सुजन सापकोटाले सिँचाइ बढाउने, बिचौलीयाबाट किसानसम्म फाइदा पु¥याउने र युवा क्षेत्रलाई कृषिमा आकर्षित गराउनुपर्ने सुझाव दिनुभयो । सहकारीले उत्पादनमा साथ दिनुपर्ने र दिएकोमा राज्यले पनि चासो गरिदिनुपर्ने सिवाईसी सहकारीका कर्जा विभाग प्रमुख शालिकराम पौडेलले बताउनुभयो ।
सङ्घीयतापछि स्थानीय तहमा कृषि प्राविधिक अभावले प्रभावकारी उत्पादन, बजारीकरण र व्यवसायिकरण नभएको सरोकारवालाले बताउनुभएको थियो । राज्यका तीनवटै तहका कृषि प्राविधिक र विज्ञ तथा जनप्रतिनिधिको साझेदारीमा मात्र कृषिको उत्पादन बढाउन सकिने उहाँहरुको भनाइ थियो ।