• ३ माघ २०८२, शनिबार

म्याग्दीका उत्कृष्ट किसान पुरस्कृत

blog

पुरस्कृत किसान। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ ३ गते। म्याग्दीका २० जना किसानलाई पुरस्कृत गरिएको छ। बेनीमा सञ्चालित एघारौं माघे सङ्क्रान्ति मेला तथा कृषि प्रदर्शनीमा सहभागी भएका उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत गरिएको हो। 

कृषि विकास कार्यालय र महिला उद्यम विकास समितिको आयोजनामा भएको कृषि मेला प्रदर्शनीमा जिल्लाका ६१ किसानहरुले कृषि उपजको प्रदर्शन गरेका थिए। सहभागी भएका मध्य उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने किसान छनौंट गरी नगद सहित पुरस्कृत गरिएको कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो। 

उहाँका अनुसार तरकारी बाली तर्फ बेनी नगरपालिका, २ का चन्द्रबहादुर कार्की प्रथम,रघुगङ्गा गाउँपालिका, ३ का जीतबहादुर खत्री द्धितीय,बेनी नगरपालिका, ६ का थ्रिलाल रिजाल तृतीय हुनुभएको छ। फलफूल बाली समुह तर्फ रघुगङ्गा, १ का वीरबहादुर तिलिजा प्रथम,मंगला गाउँपालिका,२ का श्रीकृष्ण पौडेल द्धितीय र अन्नपूर्ण गाउँपालिका, ३ का दुर्गादत्त सुवेदी तृतीय हुनुभएको छ। 

जरेगानो बाली समुह तर्फ रघुगङ्गा, १ का ढकबहादुर पुन प्रथम, ८ नम्बर वडा का बिमला शेरपुञ्जा मगर द्धितीय,मंगला, २ का छमलाल पौडेल तृतीय हुनुभएको छ।  बिबिध तर्फ बेनी, ९ का भीमबहादुर सुवेदी प्रथम,धवलागिरी, ७ का ओमबहादुर थापा र बेनी, ४ का डिल केसी तृतीय हुनुभएको छ। 

काउली बाली समुह तर्फ बेनी, १ का तेजबहादुर बरुवाल प्रथम,मंगला, २ हरिकृष्ण अधिकारी द्धितीय र बेनी, २ का नारायणबहादुर कार्की तृतीय हुनुभएको छ। पाँचजना किसानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ। 

उत्कृष्ट किसानहरुलाई कृषि विकास कार्यालयका प्रमुख बाँस्तोला, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले प्रमाणपत्र र नगद प्रदान गर्नुभएको थियो। पुरस्कारले कृषकलाई थप प्रोत्साहन मिल्ने रघुगंगा गाउँपालिका २ का किसान वीरबहादुर तिलिजाले बताउनुभयो। 

मेलामा स्थानीय जातको मुला, फर्सी, काउली, बन्दागोभी, केरा, साग, सिताके च्याउ, आलु, सुन्तला लगायतका कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो। जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण, कृषि उपज तथा फलफुलको प्रदर्शनी र स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको कृषि विकास कार्यालयका प्रमुख बाँस्तोलाले बताउनुभयो।