• ३ माघ २०८२, शनिबार

कास्की प्रहरीमा पुस महिनामा १९६ मुद्दा दर्ता

blog

जिल्ला प्रहरी कार्यालय, कास्की ।

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ ३ गते । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत पुस महिनामा एक सय ९६ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । एक सय २५ जना प्रतिवादी पक्राउ परेका छन् ।

अपराधको वर्गीकरण हेर्दा जघन्य तथा गम्भीर अपराध २२, आर्थिक अपराध ९० र अन्य अपराधका ८० वटा मुद्दा दर्ता भएका छन् । फैसला कार्यान्वयनतर्फ फरार २१ जना प्रतिवादी पक्राउ गरी १ वर्ष ११ महिना २७ दिन कैद तथा ४ करोड १९ लाख रुपियाँभन्दा बढी जरिवाना र बिगो रकम असुल गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक हिंसाका ६२ वटा ठाडो उजुरी पर्नुका साथै घरेलु हिंसाका २७ घटना दर्ता हुँदा अधिकांश मानसिक र शारीरिक हिँसासँग सम्बन्धित रहेको बस्नेतको भनाइ छ । पुस महिनामा ५७ जना हराएको निवेदन दर्ता भएकोमा ३२ जना फेला परेका छन् ।

लागु औषध नियन्त्रणतर्फ ब्राउन सुगर, विभिन्न इन्जेक्सन तथा ट्याब्लेटसहित २२ जनालाई पक्राउ गरिएको छ । विशेषगरी भारतबाट पोखरातर्फ ल्याइँदै गरेको ३६.४३ ग्राम ब्राउन सुगरसहित ५ जना भारतीय नागरिक पक्राउ पर्नु महत्त्वपूर्ण उपलब्धि  प्रहरीले मानेको छ । 

पुस महिनामा ७ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार झुण्डिएर आत्महत्या गर्ने घटना बढी देखिएको छ । उमेर समूह अनुसार १८ वर्षमुनिका २ जना र ४० देखि ६० वर्ष समूहका ३ जना छन् ।

सवारी दुर्घटनातर्फ १४ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । तीव्र गति र मादक पदार्थ सेवन दुर्घटनाको मुख्य कारण बनेको प्रहरीको भनाइ छ । जाँचको क्रममा २ हजार ९ सय ४७ सवारी कारबाही गरी २५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।

शान्ति सुरक्षा कायम गर्न पुस महिनामा मोबाइल गस्ती, चेकिङ तथा विशेष कार्यक्रम गरी प्रहरी परिचालन गरिएको थियो । प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित ८२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४ हजार ६ सय भन्दा बढी नागरिक र विद्यार्थीलाई सहभागी गराएको बस्नेतको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरणका लागि नवप्रवर्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ ।