• ३ माघ २०८२, शनिबार

निर्वाचनका लागि कार्यालय तथा मतदान स्थल स्थापना : बाइस मतदान केन्द्र अति संवेदनशील

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुला ।

बेलौरी समाचारदाता

बेलौरी, माघ ३ गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा मतदान स्थल तथा केन्द्र कायम गरिएको छ । मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, बुद्धिजीवीसहितको सुझावमा मतदान केन्द्र तथा स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । 

निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिशचन्द्र जोशीका अनुसार जिल्लामा १३२ मतदान स्थल तथा ३६० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्धारित मतदान स्थलमध्ये २६ सामान्य, ४० संवेदनशील र ७७ लाई अति संवेदनशील सूचीमा राखिएको छ । यसै गरी ३६० मतदान केन्द्रमध्ये ४९ सामान्य, ११९ संवेदनशील र १९२ लाई अति संवेदनशीलमा वर्गीकरण गरिएको छ । सोही अनुरूप जिल्लामा सुरक्षाव्यवस्थामा कडाइ गर्दै लैजाने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताउनुभयो । 

यसै गरी कञ्चनपुर–१ र २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुव्रmबार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय बेलौरीमा स्थापना गरिएको हो । बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत दामोदर घिमिरेले बताउनुभयो । यसै गरी निर्वाचन क्षेत्र नम्बर २ मा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । 

गढीमा कार्यालय 

बैतडी समाचारदाताका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि बैतडी सदरमुकाम गढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतपरिसरमा सो कार्यालय स्थापना गरिएको हो । जिल्लामा १२९ मतदान स्थलभित्र ‘क’ र ‘ख’ गरी २१४ मतदान केन्द्र कायम गरिएको छ । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेकोमा यो वर्ष थपिएर २१४ मतदान केन्द्र कायम भएको प्रमुख जिल्ला अधिकारी पुण्यविव्रmम पौडेलले बताउनुभयो । मतदान स्थलको सुरक्षाका लागि सबै पालिकामा अनुगमनसमेत तीव्र पारिएको उहाँले बताउनुभयो । 

मार्तडी समाचारदाताका अनुसार बाजुरामा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्ष्य गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।  निर्वाचन आयोग, नेपालको निर्देशन अनुसार स्थापना गरिएको सो कार्यालयबाट जिल्लाभर स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गराउने तयारी तीव्र बनाइएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता कार्यान्वयन, मतदाता नामावली अद्यावधिक, उम्मेदवारी दर्ता, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा संयन्त्रको समन्वय तथा मतगणनासम्बन्धी सम्पूर्ण तयारीलाई व्यवस्थित ढङ्गले अघि बढाउने बताउनुभयो । जिल्लाको भौगोलिक विकटता, दुर्गम बस्ती र यातायात चुनौतीलाई ध्यानमा राख्दै विशेष रणनीति अपनाइएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यसै गरी सुरक्षा निकायहरूले निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम राख्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको उहाँको भनाइ छ । सुरक्षा संयन्त्रबिच आपसी समन्वय, सूचना आदानप्रदान र संवेदनशील मतदान केन्द्रमा विशेष निगरानी राखिने मुख्य निर्वाचन अधिकृत कार्यालय बाजुराले जनाएको छ । 

खलङ्गा समाचारदाताका अनुसार दार्चुलाका १५ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रलाई सुरक्षाको दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँका ११२ मतदान स्थलमध्ये १५ र १४३ मतदान केन्द्रमध्ये २२ वटा केन्द्रलाई सुरक्षाको दृष्टिबाट अति संवेदनशीलको सूचीमा राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका अवसरमा जिल्लाको शान्तिसुरक्षाबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले यहाँका ११२ मतदान स्थलमध्ये १५ वटा स्थल अति संवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटालाई सामान्यको सूचीमा राखिएको बताउनुभयो । 

यस्तै १४३ मतदान केन्द्रमध्ये २२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राख्दै सुरक्षाव्यवस्था कडा गरिएको उहाँले बताउनुभयो । “निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदान स्थल र केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पेट्रोल गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो । चार महिनाअघि गत कात्तिक १२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले मतदान केन्द्रको वर्गीकरण गरेर गृह मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । जिल्लाका १४३ मतदान केन्द्रमध्ये बाँकी ४१ मतदान केन्द्रलाई संवेदनशील र ८० मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको पनि उहाँले जानकारी गराउनुभयो । 

प्रतिनिधि सभा निर्वाचनमा कारागार कार्यालयमा एउटा अस्थायी मतदान केन्द्र रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सुरक्षाको दृष्टिले अति संवेदनलशील र संवेदनशील रहेका मतदान केन्द्र र स्थलको स्थलगत अनुगमन निरीक्षण गरिएकोसमेत उहाँले जानकारी दिनुभयो । नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपि हिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाका गरी १० वटा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको उहाँले बताउनुभयो । यस वर्ष पनि व्यास गाउँपालिका–१, छाङ्रु र तिङ्करको मतदान सदरमुकाम खलङ्गामै हुने भएको छ । यहाँ बसोबास गर्ने सौका समुदायका मानिस सदरमुकाम खलङ्गा बसाइँ सरेपछि मतदान खलङ्गामै गर्ने गरी निर्वाचन आयोगलाई लेखिपठाएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरीले जानकारी दिनुभयो । दार्चुला जिल्ला अदालत रहेको पुरानो भवनमा कार्यालय स्थापना गरिएको छ ।