• २ माघ २०८२, शुक्रबार

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

ताप्लेजुङ जिल्ला अदालतसँगै स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो। उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो। प्रजिअ सेढाइँले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आचारसंहिता सहितका कानुनी व्यवस्थालाई सबैले पालना गर्न पनि आग्रह गर्नुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। 

प्रतिनिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र रहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा मतदाताको सङ्ख्या भने कुल ९० हजार ३२७ रहेको छ।