नारद कोहार
तौलिहवा(कपिलबस्तु), माघ १ गते । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सिमा क्षेत्र यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न युनिटमार्फत विभिन्न वडामा ज्येष्ठ नागरिक दुर्व्यवहार, लागुऔषध दुव्र्यसन, आत्महत्या न्यूनीकरण, बालविवाह, महिला हिंसा, जातीय छुवाछुत, यौन दुव्र्यवहार, वैदेशिक रोजगार तथा जबरजस्ती करणीसम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफलसहित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजमा देखिने विकृति, अपराध र हिंसा नियन्त्रणका लागि समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
वडा अध्यक्ष चन्द्रप्रकाश दुबेले यस्ता कार्यक्रमले स्थानीय तहमा कानुनी सचेतना बढाउने र समाज सुधारमा टेवा पुग्ने विश्व रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यले नागरिकसँगको सहकार्यलाई थप सुदृढ गर्दै अपराध न्यूनीकरण र नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताउनुभयो । कार्यक्रमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै कपिलबस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन कपिलबस्तु प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसी, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, स्थानिय लगायतको सहभागिता रहेको थियो ।