टोपलाल अर्याल
रेसुंगा (गुल्मी), माघ १ गते। चार दिनदेखि बेपत्ता अर्घाखाँचीका ९२ वर्षीय वृद्ध मृत फेला परेका छन्। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा घर भइ अहिले बुटवल गोलपार्क बस्दै आउनुभएका ९२ वर्षीय छविलाल गैरे कालीगण्डकी नदीमा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा गैरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली खटिएर पहिचान गर्ने क्रममा जेठो छोरा कृष्णप्रसाद गैरेले मृतक छविलाल गैरे आफ्नै बुबा रहेको पुष्टि गरेको सारुले जानकारी दिनुभयो।
मृतक गैरै हराएपछि पुस २७ प्रहरीमा खोजी कार्यका लागि निवेदन परेको थियो। सामाजिक सञ्जालमा परिवार र आफन्तले पनि खोजिदिन आग्रह गरेका थिए। उनको पहिचान भएपछि पोष्टमार्टमका लागि शव निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।