• ३ असार २०८१, सोमबार

काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न नगरप्रमुख वालेन्द्र साहको आग्रह

blog

काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ । 

ज्यापू संस्कृति विकास कोषद्वारा गुरुपूर्णिमाको उपलक्ष्यमा बुधबार यहाँस्थित क्षेत्रपाटीमा आयोजित कार्यक्रममा उहाँले नेवारी परम्पराअनुसार सगुनसहित फूलमाला, टीका र टोपी लगाइदिएर उहाँहरुको सम्मान गर्नुभएको हो ।


कार्यक्रममा बोल्नहुुँदै प्रमुख साहले नेवार समुदायभित्रको बहुसङ्ख्या रहेको ज्यापू जातिको संस्कृति समृद्ध र समुन्नत भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा स्थानीयहरुको भोटका कारण जितेको भन्दै आफूलाई पनि काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न आग्रह गर्नुभयो ।

हालै सम्पन्न स्थानीय तहमा निवार्चित काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहसहितका जनप्रतिनिधिलाई पनि कोषले सम्मान गरेको थियो ।

कार्यक्रममा १९ औँ राष्ट्रिय ज्यापू दिवस र योमरी पुन्हि आयोजना गर्न परम्परागत ग्वफः नायपाचोया अध्यक्ष पञ्चनारायण महर्जनलाई दिवसको तयारीको लागि एकलाख रुपियाँको नगदसहित जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

यस्तै, कोषले परम्परागत बाजागाजा संरक्षण र मर्मतका लागि ६३ वटै टोललाई जनही दशहजार रुपियाँको दरले नगद अनुदान दिएको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्यापू महागुथिका अध्यक्ष राजभाइ जकःमिलगायतको उपस्थिति रहेको थियो । –उपेश महर्जन