अमरराज नहर्की
तनहुँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका –४ स्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगोलागीले खण्डहर भएको वर्षौं बिते पनि पुनर्निर्माण हुन सकेको छैन ।
देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयको भनाइ छ । भानुको घर झारले ढाकेको छ । घरमा प्रयोग भएका काठका झ्यालढोका डढेलोले खाएको छ ।
नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयको भनाइ छ । भानुभक्तको घर भग्नावशेष मात्रै देख्दा मन रोएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।
केही समयअघि अन्तर्राष्ट्रिय कवि सम्मेलन चुँदीरम्घामा गर्दा भानुभक्तको घर संरक्षणविहीन भएको देखेर स्वदेशी तथा विदेशी साहित्यकार मन भारी भएको पाएको उहाँले बताउनुभयो । ‘‘सरकारले तुरुन्तै बजेट विनियोजन गरेर घरको पुनर्निर्माण गर्नुपर्ने हो तर त्यसमा ध्यान नदिनु भनेको भानुप्रतिको अपमान हो’’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले त्यहाँ पुग्दा भग्नावशेष घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताउनुभयो । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको अनुभूति भएको उहाँले बताउनुभयो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थललाई भानुधामको रुपमा विकास गर्ने योजना अन्तर्गत चाँडै नै भानुको घर पुनर्निर्माण गरिने बताउनुभयो । ‘‘सङ्घ सररकारले नै घर बनाउन ध्यान दिनुपर्ने हो पहिले बनाउन नसके पनि अब हामी पुनर्निर्माण गर्छौ’ नगर प्रमुख त्रिपाठीले भन्नुभयो ।
२०५२ सालमा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको रुपमा नयाँ गठन गरेको छ । समितिले २०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो । २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा.रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खनन्को क्रममा घडेरीसम्मको जगको अवशेष, मूलढोकाको सँघार, थाम अड्काउने इलम ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पीलगायतका फेला पारिएका सबै सामग्री चुँदी रम्घाबेंसीको समितिको कार्यालयमा राखिएको छ ।
जङ्गलबीचको खरको छानाको उक्त घर २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । २०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो ।
६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनि शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । जङ्गल बीचमा घर रहेकाले पुनर्निर्माण गर्दा आगोबाट सुरक्षित हुने किसिमको बनाउन जरुरी रहेको स्थानीय तहले मात्रै घरको पुनर्निर्माण गर्न कठिन भएकाले सङ्घीय वा प्रदेश सरकारको सहयोग आवश्यक रहेको समितिका अध्यक्ष ऋषिराम पन्तले बताउनुभयो ।