• २१ कात्तिक २०८२, शुक्रबार

मध्यपहाडी लोकमार्ग र आन्दोलनरत स्थानीयबिच आठ बुँदे सहमति

blog

मध्यपहाडी लोकमार्ग र आन्दोलनरत स्थानीयबिच आठ बुँदे सहमती गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २१ गते ।
नौ वर्षमा कालोपत्र नभएको मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड र आन्दोलनरत स्थानीयबिच सहमति भएको ।  कालोपत्र नभएपछि सडक बन्दको चेतावनीपछि आन्दोलनमा उत्रेका स्थानीय र लोकमार्ग निर्माण व्यवसायीबीच ८ बुँदे सहमति भएको छ । स्थानीयले मङ्सिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

लोकमार्गको अलपत्र खण्ड काठेखोला गाउँपालिका–६ इनारपानीमा बिहीबार सरोकारवाला निकाय प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा सहित सरोकारवालाको रोहबारमा निर्माण व्यवसायी र आन्दोलनरत स्थानीयबिच तत्कालै काम सुरु गर्ने सहमति पश्चात आन्दोलन स्थागित गर्ने सहमति भएको छ ।

लोकमार्गको कालोपत्रको जिम्मा पाएको तामाङ, रिजाल भगवती जेभीका प्रतिनिधि अर्जुन रिजाल र स्थानीयबिच कात्तिक २१ गतेबाटै सडकका खाल्टाखुल्टी पुर्ने, धुलो भएको स्थानमा पानी छर्कने, पहिरो पन्छाउने, मङ्सिरबाट सबबेस हाल्न सुरु गर्ने, पुससम्म ग्राभेल गर्ने, फागुनबाट कालोपत्र गर्ने लगायत ८ बुँदामा सहमति भएको आन्दोलनरत स्थानीय भरत प्रसाद सापकोटाले जानकारी दिनुभयो ।   

निर्माण व्यवसायीको चरम लापारबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयहरु आन्दोलनमा उत्रेर कात्तिक १६ गते जिल्ला प्रशासनमा ध्यानाकर्षण गर्न आएका थिए । त्यस पश्चात आज लोकमार्ग आयोजना कार्यालय पर्वतसँगै बागलुङका सरोकारवालाको रोहबरमा फागुनबाट कालोपत्र सुरु गर्नेगरी सहमति भएको छ । 
उनिहरुले धुलाम्मे र हिलाम्मे सडकका कारण खेतीपाती समेत हुन छोडेको, सुन्तला खेती नभएको र धुलोका कारण स्वास्थ्य समेत बिग्रिएको बताउदै आन्दोलनको घोषणा गरेका थिए ।

दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डको २६ किलोमिटर नौ वर्ष वित्दा अझै १२ किमि सडक कालोपत्र हुन सकेको छैन । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष वित्दा समेत अझै १२ किलोमिटर खण्ड अलपत्र जस्तै बनेको छ ।

जसमध्ये बिहुँ खण्डको १३ किमि सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि गत वर्ष ठेक्का रद्द गरेर नयाँ सम्झौता गरिएको थियो । नयाँ ठेक्का सम्झौता गरेको समेत एक वर्ष वित्दा भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीय आन्दोलनमा उत्रेका थिए । 

आर्थिक वर्ष २०७२/७३ सालमा दुई वर्षमा सक्नुपर्ने काम पाँच पटक म्याद थप्दा समेत नसकेपछि गतवर्ष ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो ।  बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक ८ वर्षमा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ/रिजाल भगवती जेभीसँग२१ करोड ४९ लाखमा ठेकका सम्झौता गरिएको थियो ।