• २१ कात्तिक २०८२, शुक्रबार

सहकारीद्वारा मृतक परिवारलाई ऋण मिनाहासँगै आर्थिक सहयोग

blog

सहकारीका सदस्य स्वर्गीय बलबहादुर खड्काका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुहुँदै सहकारीका अध्यक्ष रामसुर बुढामगर । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, कात्तिक २१ गते ।
रुकुमपूर्व भूमे गाउँपालिका–२ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सहकारी सदस्यका मृतक परिवारलाई ऋण मिनाहासँगै आर्थिक सहयोग गर्दै आएको छ । गत माघ महिना बसेको मारिङ सहकारीको साधारण सभाले आफ्नो सहकारीका साधारण सदस्य तथा सदस्यको मृतक परिवारलाई ऋण मिनाहासँगै आर्थिक सहयोग गर्ने कार्यविधि बनाएको हो ।

साथै उक्त कार्यविधि अनुसार आफ्नो सदस्यका मृतक परिवार, सुत्केरी, गम्भीर प्रकृतिका रोगी, प्राकृतिक प्रकोपबाट पीडित घरपरिवारलाई समेत आर्थिक सहयोग गर्दै आएको मारिङ सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताउनुभयो ।

सहकारीका सदस्यको मृत्यु भएमा मृतकको घरपरिवारलाई काज किरिया खर्च वापतको पाँच हजारदेखि ३० हजार रुपियाँसम्म सहयोग गर्ने गरिएको व्यवस्थापक अधिकारीले बताउनुभयो । सदस्यले सहकारीबाट ऋण लिएको भएमा जति ऋण लगेको उक्त ऋण पुरै मिनाहासँगै थप सुरुमा पाँच हजार र पछि २५ हजार गरी ३० हजार रुपियाँ मृतक परिवारलाई आर्थिक सहयोग गर्ने गरेको अधिकारको भनाइ छ । सहकारीका सदस्यले सहकारीबाट ऋण नलिएको भएमा पाँच हजार रुपियाँ मात्र र ऋण लिएको भए ऋण बिमा रकमको २५ हजार रुपियाँ गरी ३० हजार रुपियाँ दिने गरिएको छ 

यसैगरी, सदस्य एवम् सदस्यको घरपरिवारका एक सदस्यको सुत्केरी भएमा पोषणमा सहयोग पुगोस् भनी पाँच हजार रुपियाँ सहकारीले प्रदान गर्दै आएको छ । साथै एकाघर परिवारका सुत्केरीलाई दुई हजार पाँच सय रुपियाँ सहकारीले दिइँदै आएका बताइएको छ । यसैगरी, सहकारीका सदस्यका घरपरिवारलाई गम्भीर प्रकृतिका रोगग्रस्त भएको अवस्थामा पाँच हजार रुपियाँ र सहकारीका सदस्यका घरपरिवारमा प्राकृतिक प्रकोपले क्षति पुर्‍याएमा क्षतिको अवस्था हेरेर राहत प्रदान गर्दै आएको व्यवस्थापक अधिकारीले बताउनुभयो ।