• २९ पुस २०८२, मङ्गलबार

तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते ।  तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारीसहित समुदायस्तरमा सुझाव सङ्कलन कार्य सुरु भएको छ । 

तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले नेपालमा बसोबास गर्ने करिब १४ लाख आदिवासी तामाङ समुदायले बोल्ने तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्यसहित थप काम भइरहेको जानकारी दिनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा तामाङ राष्ट्रिय पुस्तकालयले तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गराउने तयारी गरिरहेको र हाल टिएमटी डट आइएलपिआरएल डट इडियु डट एनपी वेबसाइटमार्फत समुदायस्तरमा पुगेर सुझाव सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।

अध्यक्ष योन्जनले गुगलमा अनुवादको प्रयोजनले एक लाख तामाङ शब्द राख्ने लक्ष्यमध्ये  करिब २३ हजार शब्द गुगलमा राख्न सफल भएको र सो वेबसाइटमार्फत प्रयोगकर्ताले  शब्द अनुवादका लागि उपयुक्त हुने शब्द छनोट गर्न र सुझाव दिने सेवा उपलब्ध गराइएको बताउनुभयो । सो वेबसाइटमा रहेका चार वटा अनुवाद मोडल अध्ययन गरेर प्रयोगकर्ताले प्रतिक्रिया र सुझाव दिन सक्ने व्यवस्था गरिएको छ । समुदाय तहबाट प्राप्त प्रतिक्रियाका आधारमा एउटा मोडललाई अन्तिम रूपमा प्रशिक्षित गरिने र त्यसपछि तामाङभाषी केही गाउँपालिकामा पुगेर थप प्रतिक्रिया लिइने जानकारी दिइएको छ । 

तामाङ–नेपाली–अङ्ग्रेजी भाषाबिच अन्तरअनुवाद सम्भव बनाउने लक्ष्यसहित सुरु गरिएको यस परियोजनामा प्राविधिक पक्षका लागि काठमाडौँ विश्वविद्यालय अन्तर्गत सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालयबिच सहकार्य गरिएको छ । 

यस परियोजनामा काठमाडौँ विश्वविद्यालयका प्राडा बालकृष्ण बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुवेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य तथा त्रिभुवन विश्वविद्यालयका प्राडा बलराम प्रसाईं संलग्न हुनुहुन्छ ।  त्यसै गरी अनुवाद टोलीमा संयोजक अमृत योन्जन तामाङ, सम्पादक इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योन्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा सहभागी हुनुहुन्छ । नेपाली भाषाबाहेक मैथिली (सन् २०२२) र नेपाल भाषा (सन् २०२४) गुगल अनुवादमा समावेश गरिएका छन् ।