• २८ पुस २०८२, सोमबार

मन्त्रिपरिषदका निर्णय : म्यानमारको मन्दिर पुनर्निर्माण गर्न सहयोग

blog

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडाैं, पुस २८ गते । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

बैठकले संघीय संसद् सचिवालय, सिंहदरबारमा आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

मन्त्री खरेलका अनुसार बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप दुई लाख ८३ हजार पाँच सय तीन अमेरिकी डलर भुक्तानी गर्न स्वीकृति दिएको छ ।

बैठकले भूकम्पबाट क्षतिग्रस्त म्यानमारको पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यसअनुसार म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय तथा गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ सम्मका लागि स्वीकृत गर्ने निर्णय गरेको छ । 

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने तथा गोरखापत्र संस्थाको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।


यो पनि पढ्नुहोस

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त