• २८ पुस २०८२, सोमबार

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

blog

गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त हुनु भएका पत्रकार गोविन्दप्रसाद भण्डारी ‘अखण्ड’ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस २८ गते । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई संस्थानकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद भट्टराईले बताउनु भयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पुस २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा  श्री  गोविन्दप्रसाद भण्डारी, भक्त्तपुरलाई तोक्ने ।’’  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको हो । 

लामो समय निजी मिडियाको नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नु भएका पत्रकार भण्डारी यसअघि अन्नपूर्ण पोष्टको प्रधान सम्पादकको जिम्मेवारीमा रहनु भएको थियो । 

पत्रकार भण्डारी कान्तिपुर दैनिकको विभिन्न विभागको नेतृत्वदायी भूमिकामा रहेर १८ वर्षसम्म काम गर्नुभएको थियो । पत्रकार भण्डारीको  ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता कृति प्रकाशित छन्। ‘समाचारको भाषा’ पत्रकारिता र समाचारको भाषासँग सम्बन्धित कृति हो । ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ उपन्यास कृति हुन् ।