डा.जे.पी जैसवाल, सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट तथा फिजिसियन
काठमाडौँ, पुस २८ गते ।जाडोको समयमा शरीरले तापक्रम जोगाउन विभिन्न हर्मोन सक्रिय बनाउँछ । चिसोबाट जोगिन शरीरमा क्याटेकोलामाइन र एड्रिनल हर्मोन सक्रिय हुन्छ ।
यी हर्मोनले शरीर तातो बनाउन ऊर्जा उत्पादन गर्न, चिसोको सामना गर्न र शरीरमा पानी–नुन सन्तुलनमा राख्न मदत गर्छन् । तर यी हर्मोन सक्रिय हुँदा मुटुका रक्तनली तथा धमनीहरु साँघुरिन्छन् ।
चिसोलाई शरीरले तनावको रुपमा लिने भएकाले ‘स्ट्रेस हर्मोन’ पनि सक्रिय हुन्छ, जसले गर्दा उच्च रक्तचाप बढ्ने, मुटुको धड्कन बढाउने र हृदयघात हुने जोखिमसमेत रहन्छ ।
मुटुरोगका लक्षण
–छाती दुख्ने, पोल्ने, भारी हुने वा च्यापिएको वा चर्किएको जस्तो हुने ।
–दुःखाइ बायाँ हात, काँध हुँदै ढाडसम्म फैलिने ।
–सामान्य काम गर्दा वा आराम गर्दा पनि सास फेर्न कठिन हुने ।
–सुत्दा सास अड्किएजस्तो हुने ।
–कमजोर महसुस हुने ।
–मुटुको चाल बढ्ने ।
–रिँगटा लाग्ने वा बेहोस हुने ।
जोखिम समूह
–उच्च रक्तचाप भएका बिरामी
–शरीरमा कोलेस्ट्रोलको समस्या भएका व्यक्ति
– धूमपान गर्ने व्यक्ति
– मधुमेहका बिरामी
– ज्येष्ठ नागरिक
परिवारको सदस्य कसैलाई ६० वर्षभन्दा कम उमेरमै हृदयघातको समस्या भएको थियो भने उक्त परिवारका अन्य सदस्यमा पनि मुटुरोगको जोखिम उच्च रहन्छ ।
कसरी जोगिने ?
चिसोमा मुटुरोगको जोखिम पनि बढ्ने भएकाले चिसोबाट नै जोगिनु उत्तम हुन्छ। हृदयघात सबैभन्दा बढी बिहान ४ देखि ६ बजेको समयमा हुन्छ ।
किनकि यो समयमा शरीरमा हर्मोन बढी उत्पादन हुन्छ र हृदयघात हुने सम्भावना बढाउँछ । पहिलादेखि नै मुटुरोगको समस्या भएका बिरामीले बिहानै चिसोमा हिँड्ने, दौडिने वा व्यायाम गर्ने गर्नुहुँदैन । घाम लागेपछि मात्र हिँड्न, दौडिन मिल्छ ।
चिसोको समयमा मुटुरोगबाट बच्न बिहान मनतातो पानीले मुख तथा घाँटी सफा गर्ने, मनतातो पानी पिउने र घरबाहिर निस्किनैपर्ने अवस्थामा न्यानो कपडा लगाउने, मोजा–पञ्जा लगाउने र कान छोपिने टोपी लगाउनुपर्छ ।
मुटुलाई स्वस्थ राख्न
स्वस्थकर खाना खाने ।
धूमपान तथा मदिरा सेवन नगर्ने ।
नियमित शारीरिक व्यायाम गर्ने ।
तौल नियन्त्रण गर्ने ।
तनावमुक्त रहने ।
योग वा ध्यान गर्ने ।
(डा.जे. पी. जैसवाल नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट तथा फिजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।)