• २९ पुस २०८२, मङ्गलबार

सडक ऐना हराउँदा बढ्यो दुर्घटना जोखिम

blog

रमेश विश्वकर्मा 
गुल्मी, पुस २९ गते ।
सडकमा दुर्घटना न्यूनीकरणाका लागि राखिएका ऐनाहरु हराउँदा, तोडफोड हुँदा दुर्घटना जोखिम बढेको  पाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीको रिडी–तम्घास सडकमा रहेका ऐनाहरु केहि फुटेको र हराएको अवस्थामा हुँदा दुर्घटना जोखिम बढेको हो ।  

साँघुरो र धेरै घुम्तीहरु भएको यो सडकमा विपरित दिशाबाट आएका दुवैतर्फका सवारी सहजै रुपमा सडकको ऐनामा देखिने हुँदा घुम्तीको छेउमा ऐनाहरु राखिएको थियो । अहिले कुनै ऐना तोडफोड गरी फुटाइएको छ, भने कुनै ऐना चोरी समेत भएको स्थानीयहरुले बताएका छन् । अधिकांश ऐनाहरु मदिरा सेवन गरी युवाहरुले तोडफोड गरेका हुन् । घुम्तीकै कारण धेरै दुर्घटना समेत भएको हुँदा तत्कालीन सडक डिभिजन यस सडकको घुम्ती सडक ऐना राखेको थियो ।

सडक डिभिजन पाल्पाले आर्थिक वर्ष २०७२–७३ मा सडकको अति दुर्घटनाको जोखिम रहेको १४ स्थानमा सडक ऐना राखेको थियो । केही ऐना हप्तादिनमा नै हराए भने केही महिनादिनमा हराए । अहिले ऐना राखेको झण्डै १० वर्षमा १३ वटा ऐना छैनन् । तीन लाख ६४ हजार रुपियाँ बराबरका ऐनाहरु थिए । सडकको घुम्ती छेउमा राखिएका ऐनाहरु फुटाउनुका साथै चोरी हुँदा सवारीसाधनहरुमा यात्रा गर्न निकै असहज भएको रेसुङ्गा नगरपालिका–१३ का यज्ञमुर्ति श्रीसले बताउनुभयो ।

सडक छेउमा राखिएका ऐनाहरु कसैले पनि संरक्षण नगर्दा हराएको भन्दै उहाँले स्थानीय नागरिक पनि जिम्मेवारी बन्न आवश्यक रहेको बताउनुभयो । यस्तो कार्यमा संग्लन जो कोहीलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । रेसुङ्गा नगरपालिका–८ का परमानन्द भण्डारीले सिसा फुटाउने नागरिकलाई कारबाही गर्न र सडकमा नयाँ ऐना राख्न आग्रह गर्नुभयो ।