रामकृष्ण बोहरा
बागलुङ, पुस २९ गते । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तमा २५ प्रतिशत योजना मात्रै सम्झौता गरेको छ । झण्डै पाँच सय योजना रहेको नगरपालिकामा शुक्रबारसम्म जम्मा एक सय २० योजना मात्रै सम्झौता भएका छन् ।
वडा–वडामा पुगेर योजना सम्झौता गरेर निर्धारित समयमै योजना फरफारक गरेर जेठ मसान्तभित्रै सबै काम सम्पन्न गर्दै आएको नगरपालिकाले यसवर्ष योजना सम्झौतामा ढिलाइ गरेको हो । योजना सम्झौतामा ढिलाइ हुन थालेपछि शुक्रबार सम्पन्न १८ औं नगरसभाले सिमा तोकेरै माघ मसान्तभित्र सबै योजना सम्झौता गरिसक्न नगरपालिकालाई निर्देशन जारी गरेको योजना तथा प्रशासकीय अधिकृत भीमसेन पन्त बताउनुभयो ।
‘‘लागत सहभागिता गर्न नसक्ने भएपछि उपभोक्ता समितिमा बसिदिने समेत पाउन गाह्रो भएको छ’’ नगर उपप्रमुख राजु खड्काले भन्नुभयो, ‘‘यो समस्या दिनदिनै बढिरहेको छ । आगामी दिनमा झनै बढेर जाने देखिन्छ ।’’ योजनाबारे उपभोक्तामा चासो कम हुनु र उपभोक्ताले गर्नुपर्ने लागत सहभागितामा शून्यता बढ्दा सम्झौतामा ढिलाइ भएको हो ।
नगरसभाले कतिपय योजनाको नाम समेत संशोधन गरेको छ भने कतिपय योजनाहरु मर्ज गरेर कार्यान्वयन गर्ने लक्ष्य बनाएको छ । एकै प्रकृतिका योजनामा दुई वा बढी उपभोक्ता समिति बनाउन जनशक्ति अभाव र लागत साझेदारीको समस्या परेको हो । ‘‘यो अहिलेको विकासमा प्रमुख चुनौती रुपमा देखा परेको छ’’ उपप्रमुख खड्काले भन्नुभयो ।
नयाँ सडक नखन्ने नीतिमा पनि नगरपालिका चुक्दै गएको छ । यद्यपी ठूला प्रकृतिका योजना सञ्चालन गर्ने काममा नगरपालिकाले दाता खोजिरहेको छ । गत वर्ष विश्व बैंकको सहयोगमा नगरपालिकाले सडक कालोपत्रको काम गरेको थियो । खानेपानी, सिँचाइ र ग्रामीण सडक स्तरोन्नतीका काममा लागत साझेदारी गर्न खोज्दा उपभोक्ता समितिहरु मात्रै मारमा परेकोले यो वर्ष योजना सम्झौता ढीला भएको उपभोक्ताहरुले बताउनुहुन्छ ।
‘‘बसाइसराईले गाउँमा मानिस कम छन्, कतिपयले लगानी गर्नैै सक्दैनन्, उनीहरुलाई जबरजस्ती लगानीमा लगाउन नसकिएको हो’ वडा नं. ६ का वडा अध्यक्ष रुद्रबहादुर केसीले भन्नुभयो, ‘‘बरु ठुला योजना ठेक्कामा लगाए सहज हुने देखिन्छ ।’’ वडा नं. ६ ले वडा कार्यालय हुँदै पञ्चकोटको हिमालय बाबा परिक्रमा सडक ठेक्कामा लगाएको छ ।
पञ्चकोटको लगानीमा नगरपालिकाले पनि ठुला दाता खोज्ने योजना बनाएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुलाई ल्याएर समग्र विकासमा लगानी बढाउन आग्रह गर्नुभएको छ । पूर्व अध्यक्षहरु कुशकुमार जोशी, सुरज वैद्य र भास्कर राज राजकर्णिकारले पञ्चकोट र मालिका क्षेत्र भ्रमण गरेर लगानीमा चासो समेत देखाउनुभएको थियो । सानो लगानीले उपलब्धी नदेखिने भएपछि ठेक्कामार्फत गरिने कामदेखि दाताको लगानीमा मात्र काम गरेर विकासको प्रतिफल ल्याउने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुहुन्छ ।