• २८ पुस २०८२, सोमबार

खानीको धन्सारमा गरिबीको खात

blog

बैतडीस्थित सिगास गाउँपालिका–१ मा रहेको फलाम खानी

गोकर्ण दयाल 

बैतडी, पुस २८ गते   ।  फस्फोराइटसहित आठ वटा खानीको धन्सार जस्तो जिल्ला भए पनि दुई वटा स्थानीय तहसहित बैतडी देशका १० वटा गरिब जिल्लाको सूचीमा परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी १० वटा गरिब जिल्लाको सूचीमा पर्नुका साथै यही जिल्लाको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका १० वटा गरिब स्थानीय तहको सूचीमा परेका छन् । 

नेपालमा तय गरिएको गरिबीको रेखा २०.२७ प्रतिशत भए पनि जिल्लामा गरिबी ४८.६५ प्रतिशत रहेको छ । शिवनाथ गाउँपालिमा ६४.०७ प्रतिशत गरिबी र सिगास गाउँपालिकामा ६६.८७ प्रतिशत गरिबी रहेको छ । प्रतिवेदन अनुसार जिल्लाका ४९ हजार ४०५ घरधुरीमा दुई लाख ४१ हजार ४२३ जनसङ्ख्या छ । यीमध्ये एक लाख १७ हजार ४६३ अर्थात् ४८.६५ प्रतिशतले जनसङ्ख्याले गरिबी झेलिरहेका छन् । तथ्याङ्क अनुसार सिगास गाउँपालिकामा १४ हजार ५८७ जनसङ्ख्याले गरिबी झेलिरहेका छन् । यहाँको जनसङ्ख्या २१ हजार ८१४ रहेको छ । त्यसै गरी शिवनाग गाउँपालिकाका ११ हजार ५७३ जनसङ्ख्याले गरिबी झेलिरहेका छन् । यहाँको कुल जनसङ्ख्या १८ हजार ६४ रहेको छ ।   

स्रोतका हिसाबले सिगास गाउँपालिका जडीबुटीको खानीका रूपमा रहेको छ । यहाँ सिगास संरक्षित वन, फलाम खानी, स्लेट र खरी ढुङ्गाको खानी रहेका छन् । शिवनाथ गाउँपालिकामा सुदूरपश्चिम प्रदेशकै ठुलो अमरगढी सामुदायिक वन, सिलौटा, खल, जाँतो र घट्टका लागि प्रसिद्ध ढुङ्गाको खानी छ । यद्यपि स्रोतको उपयोग हुन सकेको छैन । खानलगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने, शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच आदि नपुगेकालाई गरिबीको रेखामुनि राखिएको हुन्छ ।

प्रदेशका पाँच जिल्ला, छ वटा स्थानीय तह गरिब 

गरिबीको दर झेलिरहेका देशभरिकै १० मध्ये सुदूरपश्चिमका पाँच जिल्ला र छ वटा स्थानीय तह परेका छन् । १० गरिब जिल्लाको सूचीमा यस प्रदेशका बैतडी, अछाम, डोटी, बाजुरा र बझाङ रहेका छन् । १० गरिब स्थानीय तहमध्ये बैतडीको शिवनाथ र सिगास गाउँपालिका, अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका र बजुराको त्रिवेणी नगरपालिकाले ६५ देखि ७० प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । 

त्यसै गरी कर्णालीको जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका र मुगुस्थित सोरु गाउँपालिका, बागमतीको मकवानपुरस्थित राक्सी गाउँपालिका र लुम्बिनीको कपिलवस्तुस्थित कृष्णनगर नगरपालिका देशकै उच्च गरिबी भएका १० वटा स्थानीय तहमध्येमा परेका छन् ।

आठ वटा खानी अलपत्र

गरिब जिल्लाको सूचीमा परेको बैतडीको सिगास गाउँपालिका–१, सुङ्गरखाल र पुर्चाैडी नगरपालिकामा फलाम खानी, दागेडाकेदार गाउँपालिकामा फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा जडीबुटी र झुलाघाटको मौराभिरमा शिलाजित खानी छन् । 

त्यसै गरी सिगास गाउँपालिकामा फलामसँगै खरीढुङ्गा, स्लेट खानी, शिवनाथ गाउँपालिकामा कुटानीपिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि विस्तृत अध्ययन हुन सकेको छैन ।  

डिलासैनी गाउँपालिका छोएर बग्ने चेमेलिया नदीमा सुन र युरेनियम रहेको तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्कमा छ ।

खानी तथा भू–गर्भ विभागले फस्फोराइट खानी उत्खननका लागि विस्तृत अध्ययन गरे पनि उद्योग सञ्चालन हुन सकेको छैन । पुर्चौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ३० वर्ष पहिले स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । फलाम खानी बन्द भएपछि ती खाल्डामा स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।

तथ्याङ्क अनुसार प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी अर्थात् ३४.१६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् भने गण्डकीमा सबैभन्दा कम ११.८८ प्रतिशत मात्र गरिबी रहेको छ । अन्य प्रदेशमध्ये कर्णालीमा २६.६९, लुम्बिनीमा २४.३४, मधेशमा २२.५३, कोशीमा १७.१९ र बागमतीमा १२.५९ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् ।