सन्तोष दहित
दाङ, पुस २६ गते । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायमा परम्परागत संस्कार र रीतिरिवाजअनुसार गरिने विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई दुई लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार तुलसीपुरमा आयोजित नमुना भुह्यारथान तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३, मटाँवा महासंघ तुलसीपुरलगायत संस्थाहरूको सहआयोजनामा भएको माघ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
पछिल्ला वर्षहरूमा थारू संस्कारअनुसार गरिने विवाह परम्परा हराउँदै गएको उल्लेख गर्दै चौधरीले त्यसको संरक्षण र प्रवर्धनका लागि थारु सांस्कृतिक संग्रहालयमार्फत दुलाहा पक्षलाई एक लाख र दुलही पक्षलाई एक लाख गरी कुल दुई लाख सहयोग गरिने बताउनुभयो ।
त्यस्तै उहाँले थारु भेषभूषा, कला, संस्कृति तथा मौलिक गीत ढुम्रु, महोत्या, मागर, सज्ना, मैना, बर्किमार, छोक्रा, हुर्डङ्ग्या र दशैंमा गाइने सङ्ख्या लगायत गीतहरूको संरक्षण र प्रवर्धनका लागि विशेष प्याकेजसहित सहयोग योजना ल्याइएको जानकारी दिनुभयो । संग्रहालयबाट प्राप्त आम्दानी थारू भाषा, कला, संस्कृति, भेषभूषा र गीतसंगीतको संरक्षणमा लगानी गरिँदै आएको बताउँदै उहाँले थारू समुदायका विभिन्न विधामा अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याइएको जानकारी दिनुभयो ।
थारू भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी विषयमा स्नातकोत्तर तहको शोध (थेसिस) लेख्ने विद्यार्थीलाई पनि सहयोग गर्ने योजना रहेको उहाँको भनाइ थियो । “हाम्रो कला र संस्कृति रहे मात्र हामी थारू रहन्छौं,” चौधरीले भन्नुभयो, “त्यसैले हाम्रो पहिचान र अस्तित्व जोगाउन हामी आफैं सचेत र जागरूक हुनुपर्छ ।”
माघ थारू समुदायको महान पर्व मात्र नभई नयाँ वर्षको रूपमा पनि मनाउदै आएको चर्चा गर्दै उहाँले यो पर्वले थारु समुदाय मात्र होइन, छिमेकी समुदायबिच समेत सामाजिक एकता र सद्भाव बढाउने बताउनुभयो । माघ आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको उल्लेख गर्दै उहाँले माघी डेवानीमार्फत गाउँमा मटाँवा, अघवा र चौकदार चयन गर्ने परम्परा पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“मटाँवा र बरघर जोगिए मात्र हाम्रो पूजा, परम्परा, कला र संस्कृति सुरक्षित रहन्छ,” उहाँले भन्नुभयो, “सिंगो गाउँको संस्कृति मटाँवा र बरघरमै अडिएको हुन्छ, त्यसैले हरेक गाउँमा माघी डेवानीमार्फत मटाँवा र बरघर चयन गर्नुपर्छ ।” पहिले माघी डेवानीमार्फत बितेको वर्षको समीक्षा र आउने वर्षको कार्ययोजना बनाउने चलन रहे पनि अहिले त्यो अभ्यास थोरै गाउँमा मात्र सीमित भएको उल्लेख गर्दै उहाँले यस महत्वपूर्ण परम्परालाई पुनर्जीवित गर्न आग्रह गर्नुभयो ।
नमुना भुह्यारथानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवी आसाराम चौधरीले ढुम्रु गीतको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माघमा गाइने ढुम्रु गीत तथा मघौटा नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण नमुना भुह्यारथानका सचिव नारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रममा थारु भाषा, साहित्य तथा कला संस्कृति क्षेत्रमा योगदान पुर्याउनुहुने अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।