• २७ पुस २०८२, आइतबार

चीनको विकासमा ग्रामीण उद्योग

blog

सन् १९७८ पछि चीनमा भएको आर्थिक रूपान्तरण आधुनिक विश्व विकास इतिहासका सबैभन्दा उल्लेखनीय घटनामध्ये एक हो । सन् १९७८ डिसेम्बरमा देङ स्याओपिङको नेतृत्वमा सुरु भएको सुधार र खुलापन नीतिले चीनलाई केन्द्रीकृत योजना प्रणाली र बन्द अर्थतन्त्रबाट क्रमशः बजार–उन्मुख अर्थतन्त्रतर्फ मोड्न सफल भयो । त्यसबेला चीन मुख्यतः कृषिमा आधारित अर्थतन्त्र थियो, जसको अन्तर्राष्ट्रिय व्यापारमा संलग्नता अत्यन्त सीमित थियो ।

१९७० को दशकको अन्त्यतिर चीनमा औसत आम्दानी अत्यन्त कम थियो । प्रतिव्यक्ति जिडिपी करिब अमेरिकी डलर २०० भन्दा पनि कम थियो । ग्रामीण क्षेत्रमा व्यापक गरिबी थियो र जनजीवन कठिन अवस्थाबाट गुज्रिरहेको थियो । सुधार नीतिले आर्थिक नियन्त्रणलाई विकेन्द्रीकृत गर्दै बजारका प्रोत्साहनसम्बन्धी विभिन्न औजार लागु ग¥यो र देशलाई क्रमिक रूपमा विश्व अर्थतन्त्रसँग जोड्ने बाटो खोल्यो । यसको परिणामस्वरूप चीनले केही दशकमै अद्भूत उपलब्धि हासिल गर्दै सन् २०१० सम्ममा जापानलाई उछिन्दै विश्वको दोस्रो ठुलो अर्थतन्त्र बन्न पुग्यो । सन् १९७८ देखि २०१८ सम्म चीनको औसत आर्थिक वृद्धिदर झन्डै हरेक वर्ष दुई अङ्कमा रह्यो र करिब सात सय मिलियन जनतालाई गरिबीको रेखामाथि उठाउन सफल भयो ।

सन् २०२४ सम्म चीनको कुल गार्हस्थ उत्पादन करिब १८.७ ट्रिलियन अमेरिकी डलर पुगेको थियो । प्रतिव्यक्ति आय १३ हजार ६६४ अमेरिकी डलर (विश्व बैङ्क, २०२४) पुग्न सफल भयो । यी उपलब्धिका राजनीतिक कारणभन्दा पनि ग्रामीण उद्यमशीलता र गाउँ आधारित उद्योग (टाउनसिप एन्ड भेलेज इन्टरप्राइजेज, टिभिइज) ले चीनको समग्र अर्थतन्त्रमा गहिरो रूपान्तरण ल्यायो । यो रूपान्तरणमा अन्य धेरै अवयव होलान् तर टिभिइजले सहरी औद्योगिकीकरणका लागि आधार तयार पार्दै चीनको ‘आर्थिक चमत्कार’ को प्रारम्भिक चरणको मुख्य संवाहक को रूपमा कार्य ग¥यो ।

सुधारको सुरुवात र ग्रामीण परिवर्तन

सुधारको पहिलो चरण ग्रामीण क्षेत्रबाट सुरु भयो । घरपरिवार जिम्मेवारी प्रणाली (हाउसहोल्ड रेस्पोन्सेबिलिटी सिस्टम) ले किसानलाई जग्गा ठेक्कामा लिन, उत्पादनका निर्णय गर्न र अतिरिक्त उत्पादन बजारमा बेच्न स्वतन्त्रता दियो । यसले कृषिजन्य उत्पादकत्वमा उल्लेखनीय वृद्धि ल्यायो र कृषि क्षेत्रमा काम गर्ने थप श्रमशक्ति उद्योगतर्फ आकर्षित भयो । यसै सुरुवाती प्रक्रियाबाट चीनमा ग्रामीण औद्योगिकीकरणको बाटो खोल्यो ।

सन् १९७० दशकको अन्त्यतिर आनहुई प्रान्तको सियाओगाङ गाउँमा किसानले गोप्य रूपमा तत्कालीन चीन सरकारको नीति विपरीत गाउँलेले सम्झौता गरेका थिए, जसको नाम चीनको इतिहासमा ‘ठुलो सम्झौता’ (बिग कन्ट्रयाक) नामले परिचित छ । उनीहरूले गरेको उत्पादनको जिम्मेवारी घरपरिवार स्तरमा बाँड्ने र सरकारलाई हरेक घरबाट उठाएर उत्पादनको हिस्सा दिने गरी गरिएको गोप्य सम्झौता थियो, जुन कुरा तत्कालीन कम्युन नीतिको विरुद्ध थियो । जसले उक्त गाउँमा पहिलेभन्दा उत्पादन, उत्पादकत्वको साथै गाउँलेको जीवनस्तर नै सुधार भएपछि सरकारले यस अभ्यासलाई औपचारिक रूपमा स्वीकार ग¥यो र त्यसलाई नै ‘हाउसहोल्ड रेस्पोन्सबिलिटी सिस्टम’ नाम दिइयो । यस अन्तर्गत किसानले राज्यलाई निश्चित हिस्सा बुझाएपछि बाँकी उत्पादन र लाभमा आफ्नो स्वामित्व कायम राख्न पाउथे । चीनको विकासको महत्वपूर्ण कथा बिग कन्ट्रयाकको सत्य घटनालाई पेकिङ विश्वविद्यालयका प्राध्यापक ‘फू’ जुनले आफ्नो पुस्तक ‘पाथ वे टु प्रोस्पेरिटी’ मा लेख्नुभएको छ । 

यही अवधिबाट कम्युन तथा ब्रिगेड उद्योगहरू क्रमशः टिभिइजमा रूपान्तरण हुन थाले । कम्युन उद्यम सामूहिक स्वामित्वमा थिए भने टिभिइज प्रायः स्थानीय सरकार वा निजी स्वामित्वमा गए । सन् १९७८ देखि १९८३ बिचमा कम्युन उद्यमको सङ्ख्या केही घटे पनि उत्पादन र रोजगार दुवै बढे जसले ग्रामीण उद्यमशीलताको नयाँ युगको सुरुवात ग¥यो ।

ग्रामीण उद्योगको उदय 

सन् १९८० को दशकमा चीनको करिब ८० प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बस्थ्यो । गरिबी र भोकमरी अत्यन्तै डरलाग्दो थियो । ‘टाउन्सिप’ र ‘भिलेज एन्टरप्राइजेज’ ले यस अवस्थालाई भत्काउन महìवपूर्ण भूमिका खेल्दै गाउँ गाउँबाट उत्पादन र उद्यमशीलताको जग बसाल्न सफल भयो । यी साना मझौला उद्योगहरूले उत्पादन, प्रशोधन, निर्माण र सेवा क्षेत्रमा काम गर्न थाले । जसले गाउँघरमा नै रोजगारी सिर्जना गरेर लाखौँ युवा श्रमशक्तिलाई खेतीमा निर्भर रहनुअघि नै अवसर दिए । उनीहरूले कृषिलाई मात्रै आधार नबनाई, औद्योगिक उत्पादन, निर्माण र सेवा जस्ता नयाँ क्षेत्र स्थानीय स्रोत र बजारमा आधारित गरी विकसित गरे । यसले नाटकीय रूपमा ग्रामीण आय बढायो, गरिबी घटायो र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन सफल रह्यो । गाउँ तथा टाउनसिप सरकारले समग्र उद्यमशीलताको व्यवस्थापन गर्दै जग्गा व्यावस्थापन, आधारभूत पूर्वाधार र नीति निर्माणमा सहयोग गर्थे । स्थानीय उद्यमीहरूले उत्पादन र बिक्री समाल्थे । टिभिइजले ग्रामीण क्षेत्रको अतिरिक्त श्रमशक्ति, स्थानीय बचत र फाइदालाई पुनः लगानी गरेर सानो मझौला उत्पादन, प्रशोधन र सेवा गतिविधि विस्तार गर्थे । नाफालाई उद्यमी, कामदार र स्थानीय निकायबिच बाँडिन्थ्यो, जसले स्थानीय विकासलाई आर्थिक प्रोत्साहनसँग जोड्थ्यो । स्थानीय सरकारको प्रत्यक्ष संलग्नतामा स्थानीय उद्यमीलाई सँगै लिएर तुलनात्मक लाभका क्षेत्रको विस्तारको नमुना तत्कालीन चीन विकासको उत्कृष्ट मार्ग नै त्यहीबाट सुरु भएको थियो ।

सन् १९९० को दशकको मध्यसम्म टिभिइजमा करिब १३ करोड मानिस कार्यरत थिए, जुन चीनको कुल श्रमशक्तिको करिब पाँचौँ हिस्सा थियो । तिनीहरूको योगदानले ग्रामीण उत्पादन र राष्ट्रिय जिडीपीमा उल्लेखनीय वृद्धि ल्यायो । सन् २००७ सम्म देशभर करिब २३ ‘मिलियन टिभिइज’ सञ्चालनमा थिए, जसले १५० मिलियन मानिसलाई रोजगारी दिएको थियो । सन् १९७८ देखि २००७ सम्मको अवधिमा यी उद्यमहरूले करिब ६७० मिलियन जनालाई गरिबीबाट माथि उठाउन सहयोग पु¥याए । टिभिइज प्रायः तटीय र अर्ध–सहरी क्षेत्रमा तीव्र रूपमा फस्टाए । तिनीहरू राज्य–स्वामित्वका उद्योगहरू (सार्वजनिक संस्थान) भन्दा पनि बढी सक्षम थिए । कम सञ्चालन लागत, बजारमा छिटो उपलब्धता र उच्च उत्पादनशीलताका कारण ग्रामीण र सहरी आम्दानी अन्तर घटाउन र जीवनस्तर सुधार गर्न उनीहरूको योगदान निर्णायक रह्यो ।

विश्व व्यापार सङ्गठनमा प्रवेश 

सन् १९९० को दशकमा चीनले बजार सुधारलाई अझ गहिरो बनायो । सन् १९९४ को राजस्व साझेदारी सुधारमार्फत केन्द्रीय र स्थानीय सरकारबिच राजस्व संरचना पुनर्निर्धारण गरियो । मूल्य स्वतन्त्रता र स्वामित्व सुधार लागु गर्दै चीनले विदेशी लगानी र निजी क्षेत्रलाई अझ खुला बनायो । यस अवधिमा चीनको औसत जिडिपी वृद्धिदर करिब १० प्रतिशत रह्यो । न्युन प्रतिव्यक्ति जिडिपी सन् १९९० मा ३५० अमेरिकी डलरबाट सन् २००० सम्म ९५९ डलर पुग्यो । तटीय क्षेत्रमा निर्यात प्रशोधन क्षेत्र स्थापना भए, जसले चीनलाई विश्व आपूर्ति सञ्जालमा जोड्न मद्दत ग¥यो । धेरै टिभिइज पुनर्संरचना भएर निजी कम्पनीमा परिणत भए वा ठुला उद्योगमा समाहित भए ।

सन् २००१ मा चीनले विश्व व्यापार सङ्गठनमा प्रवेश गरेपछि अर्थतन्त्रले नयाँ आयाम पायो । विश्व व्यापार सङ्गठनको सदस्यताले चीनलाई विश्व बजारमा पूर्ण रूपमा समाहित ग¥यो । शुल्क घटाउने, सेवा क्षेत्र खोल्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नियम परिवर्तन गर्ने प्रतिबद्धताले निर्यात र विदेशी लगानीमा तीव्र वृद्धि ल्यायो । यस विस्तारको बलियो आधार निर्माण गर्न विश्व व्यापार सङ्गठनले अघिल्लो दुई दशकमा तयार गरेको औद्योगिक संरचना र उद्यमशीलताको अनुभवले महत्वपूर्ण भूमिका खेल्यो । 

उपलब्धि र रूपान्तरण 

विश्व व्यापार सङ्गठनमा प्रवेशपछिका दुई दशकमा चीनको प्रतिव्यक्ति जिडिपी सन् २००० मा ९५९ अमेरिकी डलरबाट सन् २०२३ सम्म १२ हजार ६१४ डलर पुग्यो । सन् २०२४ मा करिब १३ हजार ३०० डलर पुग्न सफल भयो । यसले चीनलाई विश्व बैङ्कको वर्गीकरण अनुसार उच्च–मध्यम–आय भएको देशको रूपमा स्थापित गरेको छ । चीनको अर्थतन्त्रको संरचना पनि उल्लेखनीय रूपमा बदलिएको छ । कृषिको हिस्सा घट्दै गयो, उद्योग बलियो रहँदै सेवा क्षेत्र तीव्र गतिमा बढ्यो । सन् २०११ मा पहिलो पटक सहरी जनसङ्ख्या ग्रामीण जनसङ्ख्याभन्दा बढी भयो । यी सबै परिवर्तनमा टिभिइजले आधारभूत भूमिका खेलेको छ । तिनीहरूले कृषि र उद्योगबिचको खाडल घटाए, ग्रामीण जनतालाई बजार अर्थतन्त्रमा सहभागी गराए र स्थानीय राजस्व तथा रोजगारीका अवसर सिर्जना गरे ।

यद्यपि सन् २००० पछि टिभिइजको प्रत्यक्ष भूमिका घट्दै गएको छ । धेरै जसो निजीकरण वा ठुला कम्पनीमा समाहित भएका छन् तर तिनीहरूको विरासत आज पनि चीनका साना र मध्यम उद्यमको रूपमा जीवित छ । यी उद्यमले आज पनि क्षेत्रीय विकास, रोजगारी सिर्जना र नवप्रवर्तनमा योगदान दिइरहेका छन् ।

गाउँबाटै राष्ट्रनिर्माणको आधार 

चीनको आर्थिक चमत्कार केवल ठुला सहर वा राज्य–स्वामित्वका उद्योगको सफलता मात्र होइन, यसको वास्तविक आधार ग्रामीण उद्यमशीलता हो । ‘टाउनसिप एन्ड भिजेज इन्टरप्राइजेज’ (टिभिइज) ले ग्रामीण चीनलाई उत्पादन र उद्योगको केन्द्रमा रूपान्तरण गरे । तिनीहरूले गाउँका मानिसहरूलाई आत्मनिर्भर, उत्पादनमुखी र बजार–सहज बनाउँदै चीनलाई आधुनिक औद्योगिक अर्थतन्त्रमा प्रवेश गराए । आज चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । दीर्घकालीन विकासका लागि चीनले अब प्रविधि, सेवा र नवप्रवर्तनमुखी क्षेत्रमा उत्पादकता बढाउनुपर्ने छ । विगतमा ‘टाउनसिप’ तथा ‘भिजेज इन्टरप्राइजेज’ ले देखाएको प्रयोगशीलता, आत्मविश्वास र स्थानीय पहलको भावना नै भविष्यमा पनि चीनको दिगो र सन्तुलित विकासका लागि प्रेरणाको स्रोत बनेको छ ।

चीनको ग्रामीण उद्यमबाट सिक्न सकिने सबैभन्दा मूल्यवान् विषय दुई वटा छन् । पहिलो, कसरी गाउँबाटै राष्ट्रनिर्माणको आधार तयार गर्न सकिन्छ । दोस्रो, कसरी निजी क्षेत्र र जनता उद्यमशीलतामा अग्रसर नहुँदा स्थानीय सरकारले अग्रणी भूमिका निर्वाह गर्दै ग्रामीण उद्यमशीलतामा हातेमालो गर्न सक्छ भन्ने हो । चीनले जसरी गाउँ–आधारित साना उद्यमहरूलाई स्थानीय सरकार, समुदाय र बजारसँग जोडेर स्वावलम्बी आर्थिक संरचना बनायो, त्यस्तै मोडेललाई नेपालले पनि आफ्नो सन्दर्भ अनुसार रूपान्तरण गर्न सक्छ । नेपालमा अझै करिब ६० प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । उत्पादनशीलता र रोजगारीका अवसर सीमित छन्, युवा पलायनको डरलाग्दो अवस्थामा स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा ग्रामीण उद्यमशीलतालाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा व्यावसायिकरणसहित मूल्य अभिवृद्धि गर्ने उद्योग स्थापना, स्थानीय स्रोतसाधनमा आधारित प्रशोधन केन्द्र, हस्तकला, पर्यटन र साना प्रविधि–आधारित उद्योग विकास गर्न सके गाउँहरूलाई आत्मनिर्भर आर्थिक एकाइमा रूपान्तरण गर्न सकिन्छ । स्थानीय सरकार, सहकारी संस्था र निजी क्षेत्रबिच सहकार्य गरी ग्रामीण उद्यमका लागि वित्त, तालिम र बजार पहुँच सुनिश्चित गरिनु जरुरी छ, जसमा निश्चित अवधिसम्म स्थानीय सरकारले अहम् भूमिका खेल्नु पर्छ ।

हरेक पालिकाले आफ्ना तुलनात्मक लाभका आधारमा उद्यमशीलता विकास गर्दै उत्पादन, उत्पादकत्व, बजार व्यवस्थापन र उद्यमशील वातावरण सिर्जना गर्दै ग्रामीण उद्यमी तयार पार्दै रोजगारी सिर्जना गर्नु आजको देश विकासको उत्कृष्ट विकल्प हो । अबको देश निर्माण, विकास र स्थिरताको एक मात्र विकल्प भनेकै ग्रामीण उद्यमशीलता हो । यसैले चीनको  टिभिइजबाट प्रेरणा लिएर नेपालले पनि ‘गाउँबाट विकास, उद्यमबाट समृद्धि’ को मार्ग अवलम्बन गर्न सके, देशको आर्थिक रूपान्तरण केवल सम्भव होइन, सुनिश्चित बन्न सक्छ ।