नारायणगढ, पुस २६ गते । जेनजी आन्दोलनबाट ठुलो क्षति ब्यहोरेपछि कालिका नगरपालिकाको नियमित विकास निर्माणको काम प्रभावित बनेको छ । नगरपालिकाको विकास बजेट आगजनी र तोडफोड भएका भौतिक संरचनामा खर्च गर्न परेपछि शुक्रबार सम्पन्न आठौं नगरपरिषद्ले बजेट परिमार्जन गरेर सो तर्फ लगानी गर्ने निर्णय गरेपछि नियमित योजनाहरुको बजेट प्रभावित बनेको हो ।
नगरपालिकाका प्रमुख विनोद रेग्मीले तोडफोड तथा आगजनीमा परेका संरचनाहरुको पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा कालिका नगरपालिकामा करिब पाँच करोड ८४ लाख रुपियाँ बराबरको क्षति भएको थियो । सो क्षतिको परिपूर्ति गर्न चालु आर्थिक वर्षमा बजेट कटौती गर्दै लगानी गरिएको हो ।
“हामीलाई क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आठ करोडभन्दा बढी बजेट आवश्यक परेपछि नियमित योजनाका बजेट कटौती गर्नुपरेको छ” नगरपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै नगर प्रमुख रेग्मीले भन्नुभयो, “पुनर्निर्माणका लागि हालसम्म एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ, अझै अपुग बजेटले संरचना बनाउनुपर्नेछ ।”
जेनजी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षतिनगरसभाहल तथा महिला सञ्जालको भवनमा पुगेको थियो । सभाहल मर्मत सुधारका लागि मात्रै ५१ लाख रुपियाँ खर्च भइसकेको छ ।
यस्तै, वडा नम्बर ६ र ४ का भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् । यो वर्ष यी दुवै भवन बनाउनका लागि बजेट विनियोजित गरिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो । यसैगरी, वडा नम्बर १ देखि ९ सम्मका अन्य वडामा १० देखि १५ लाख रुपियाँसम्मको क्षति भएको बताइएको छ । कार्यालय सञ्चालनकै लागि भए पनि यी सबैको मर्मत सुधार यहि आर्थिक बर्षमा गर्नुपर्ने बाध्यता भएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
वडा नम्बर ६ मा रहेको कृषि तथा पशु शाखाको कार्यालय र आँखा उपचार केन्द्रमा रहेका लाखौँ मूल्यका उपकरणमा समेत क्षति पुगेको थियो । कार्यालयको अभावमा अहिले नगरपालिकाले डेरीको कार्यालय र रुखको चौतारीबाट सेवा प्रवाह गरिरहेको छ ।
नगरपरिषद्ले आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित ९८ करोड रुपियाँको बजेटलाई घटाएर ९० करोड रुपियाँमा सीमित गरेको छ । यसबाट सिर्जनात्मक तालिम, आयआर्जन, स्वयंसेवक शिक्षक तथा रोजगारीका कार्यक्रम कटौती भएका छन् ।
यसैगरी, गरिब तथा विपन्न १२ सय घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम तथा महिला र बालबालिकासम्बन्धी अधिकांश कार्यक्रम पनि कटौती गरिएको नगरसभामा जानकारी दिइयो ।
यस्तै यो वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट दुई करोड १४ लाख ६८ हजार रुपियाँ बराबरको राजस्व सङ्कलन गरेको छ । यसले वार्षिक सात करोडको लक्ष्य लिएको भए पनि यो तथ्यले लक्ष्य पूरा नहुने देखिन्छ ।
नगरसभाबाट नक्सा पास, घर अभिलेखीकरण तथा नियमितीकरणसम्बन्धी ऐन र जग्गा पास व्यवस्थापन ऐन गरी दुईवटा ऐन पारित भएका छन् । यसैगरी, कित्तागत वर्गीकरणको तयारी, सडक मापदण्डमा एकरूपता र जग्गा व्यवस्थापनसँग मेल खाने गरी कार्यविधि पनि स्वीकृत गरिएको छ । फोहोर व्यवस्थापनका लागि नगरभित्र ल्यान्डफिल साइट पहिचान गरी व्यवस्थापन प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको छ । हालसम्म चार स्थानमा उक्त क्षेत्र पहिचान भएको जनाइएको छ ।