बढ्दै गएको चिसो मौसम । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै घामका पाइला ओर्लिएका थिए । भरिभराउ थिए, विद्यार्थी तथा अभिभावक । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा पुस १० गते सहभागी बन्ने अवसर मिल्यो । बाबाआमाको साथमा म र बहिनी अर्पणा उपस्थित थियौँ । बहिनी पनि व्यवस्थापन विषयमा स्नातक तहको प्रमाणपत्र लिँदै थिइन् । हामी दिदीबहिनीका लागि यो आफैँमा एउटा सुनौलो अवसर थियो । बाबाआमाको उपस्थितिले झन् हामीलाई आनन्दित बनाइरहेको थियो ।
५१ औँ दीक्षान्तमा दीक्षित हुँदै गर्दा त्रिविलाई मनैदेखि सम्झिरहेँ । विसं २०१६ सालमा स्थापना भएको नेपालकै पुरानो विश्वविद्यालय । यसले स्थापनाकालदेखि आजसम्म म जस्तै लाखौँ नागरिकलाई उच्च शिक्षाको आलोकले प्रदीप्त पारिसकेको छ । म पनि आज दीक्षित भएर राष्ट्रसेवामा समर्पित हुन तयार छु । एकातिर कक्षा १२ उत्तीर्ण गरेर बिदेसिने विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । अर्कातिर हामी जस्ता त्रिविमा विश्वास गरेर दीक्षित हुनेको सङ्ख्या पनि कम छैन । रङ्गशालाको विशाल उपस्थितिलाई हेर्दा मेरो मनले त्यही सत्यलाई स्विका¥यो । देशको वर्तमान अवस्था खासै उत्साहजनक पाइँदैन । यस्तो अवस्थामा दीक्षान्त कार्यक्रममा पनि खासै के उल्लास होला र भन्ने अनुमान हुनु स्वाभाविकै हो । त्रिभुवन विश्वविद्यालयको यस दीक्षान्तमा देखिएको उत्साहपूर्ण सहभागिताले मनमा उम्रिएको निराशाको बादललाई पूरै चि¥यो । दशरथ रङ्गशालाको सेरोफेरो र त्यहाँ उपस्थित विशाल जनसागरले नेपालमा त्यति आत्तिनुपर्ने गरी विद्यार्थी घटेको होइन रहेछ भन्ने महसुस मैले गरेँ ।
त्रिविले पहिलो दीक्षान्त कार्यक्रम २०१७ चैत ९ गते बुधबार गरेको इतिहास छ । राजाश्री ५ महेन्द्रवीरविक्रम शाह र त्रिविका प्रथम रजिस्ट्रार पारासरनारायण सुवालको उपस्थितिमा भएको त्यो दीक्षान्तको ऐतिहासिकता आफ्नै थियो । यो ५१ औँ दीक्षान्तले पनि प्रमुख अतिथिका रूपमा जापानी प्राध्यापकलाई प्राप्त गरेको थियो । सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ, टोकियो विश्वविद्यालयका प्राध्यापक डा. ताकाकी काजिताका । प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्म प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गरेको थियो । यस्तो महान् व्यक्तिहरूको उपस्थितिमा दीक्षित हुन पाउनुलाई मैले एउटा अविस्मरणीय अवसर मानेकी छु ।
कक्षा १२ को समाप्तिपछि म २०७६ मा त्रिविमा विद्यार्थीको रूपमा प्रवेश गरेकी हुँ । कोराना जस्तो विश्वमा आतङ्क मच्याउने रोगले गर्दा पढाइ समयमै सकिएन । चार वर्षको स्नातक तहको पढाइ सक्न झन्डै छ वर्ष लाग्यो । यस्तो ढिलाइले विद्यार्थीमा चिन्ता थपिनु स्वाभाविकै हो । यस्तै चिन्ताबिच पढाइ सकियो । पढाइको औपचारिक प्रमाण नै स्थायी प्रमाणपत्र हो । स्थायी प्रमाणपत्र पाइने कार्यक्रम नै दीक्षान्त कार्यक्रम रहेछ । २०८१ साल असारदेखि २०८२ साल जेठसम्ममा त्रिविका विभिन्न सङ्कायबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी दीक्षित हुनेको सङ्ख्या ८९ हजार १९१ जना रहेछ । यति धेरै विद्यार्थीका बिचमा म आफू पनि दशरथ रङ्गशालामा उपस्थित हुन पाएँ । रङ्गशालामा दीक्षान्त प्रमाणपत्र लिन औपचारिक रूपमा आउनेहरूको मुहारमा मेरो जस्तै खुसी देखिन्थ्यो । रङ्गशाला आउन फाराम भर्नेको सङ्ख्या त्रिविका अनुसार १६ हजार ३८० जना थिए । मलाई लाग्यो नेपालमा विश्वविद्यालयको सङ्ख्या बढेर १९ पुगिसकेको वर्तमान अवस्थामा पनि त्रिवि विद्यार्थी चापका आधारमा पहिलो स्थानमै रहेछ । कार्यक्रममा उत्साही विद्यार्थीको भिडले त्यही कुरो स्पष्ट पारेको थियो । विद्यार्थीमा त्रिविप्रतिको विश्वसनीयता अझसम्म पनि उत्तिकै उँचो छ भन्ने योभन्दा अर्को प्रमाण के आवश्यक छ र !
त्रिविको पूर्वसूचना अनुसार दशरथ रङ्गशालामा बिहान ८ बजेतिर नै उपस्थित भएँ । विषय र तह अनुसार बस्ने ठाउँ निर्धारण गरिएकाले स्थान प्राप्तिका लागि समस्या थिएन । अभिभावक वा आफन्तका लागि तल मैदानमै कुर्सीको उचित प्रबन्ध गरिएको थियो । भित्र पसेदेखि नै विभिन्न राष्ट्रिय गीतको सुमधुर प्रस्तुतिले रङ्गशाला गुञ्जायमान थियो । दीक्षान्त पोसाकमा सजिएका विद्यार्थी र आफ्ना छोराछोरी र आफन्तको सफलता हेर्न आएका सबैको अनुहारमा उल्लासमय चमक देखिन्थ्यो ।
मैले जीवनमा पहिलो पटक देशको प्रधानमन्त्री उपस्थित रहेको कार्यक्रममा भाग लिन पाएँ । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की । महिला हुनुको नाताले मेरा लागि यो झन् हर्षको विषय थियो । शिक्षामन्त्री महावीर पुन, त्रिविका उपकुलपति दीपक अर्याललगायतका पदाधिकारीको सक्रिय उपस्थिति समस्त विद्यार्थीका लागि प्रेरणा थियो । उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिले सबैमा नौलो उत्साह थपेको थियो । बिहानको मौसम चिसो भएर खासै के फरक प¥यो र ! १० बजेपछि घामको पारिलो प्रकाशले सर्वत्र न्यानो बनाएकै थियो । हरेक ब्लकमा सहभागी बढ्दै जाँदा रङ्गशालामा रौनक थपिइरहेको थियो । मूल पोसाक कालो भए पनि विषय र तह अनुसारको स्कार्फले माहोल रङ्गीचङ्गी बनाएको थियो । म कुनै फूलबारीमा छु जस्तो अनुभूति भइरह्यो कार्यक्रम अवभिभर । देशका विभिन्न ठाउँबाट छोराछोरी र आफन्तको दीक्षान्तकै लागि आउनुभएका अभिभावक र आफन्तजनको खुसी हेरिरहुँ जस्तो देखिन्थ्यो । तल मैदानमा उपस्थित अभिभावक पनि भरिभराउ देखिएका थिए ।
समारोहमा प्रमुख अतिथिका रूपमा आउनुभएका काजिताले दीक्षान्त मन्तव्य राख्दै विद्यार्थीलाई दिनुभएको सन्देश मननीय थियो । उहाँले आफ्नो मन्तव्यमा भन्नुभएको थियो, “दीक्षित भएकोमा मात्र ढुक्क नहुनुहोस् । सधैँ कठिन बाटो पछ्याइरहनुहोस् । नयाँ कुराको खोजीमा जुटिरहनुहोस् । अनुमान गर्नुहोस् र निर्णयमा जुट्नुहोस् । आफूले आफैँलाई सोध्नुहोस् मेरो भूमिका के हो भनेर, समाजमा मैले के गर्न सक्छु भनेर ।” दीक्षान्त मन्तव्यमा काजिताले राखेका कुरा विशेष हामी जस्ता नवदीक्षितका लागि मननीय थिए । प्रत्येक दीक्षितले समाजमा भोलि जुन क्षेत्रमा गए पनि के योगदान दिन सकियो भन्नेतिर गहिरो ध्यान दिनुपर्ने कुरा प्रेरणदायी थिए । जीवनमा सफलता पाउन उद्देश्य, लचिलोपन र करुणा आवश्यक पर्छ । सफलता रातारात मिल्दैन । यसका लागि धैर्य आवश्यक पर्ने कुरामा काजिताले जोड दिनुभएको थियो । यो सन्देशले मेरो मनलाई धेरैबेर तरङ्गित बनाइरह्यो ।
कार्यक्रममा भाषण चल्दै थियो । दीक्षान्त टोपी र पोसाकमा फोटो खिचाउनेहरू व्यस्त थिए । त्यत्तिकै उत्साह मञ्चमा पदक र प्रमाणपत्र थाप्नेमा पनि देखिन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री शुशीला कार्कीले “त्रिविले गुणस्तरीयतामा पनि ध्यान पु¥याउनु आवश्यक छ । सबैभन्दा ध्यान दिनुपर्ने कुरा परीक्षा सकिएपछि निश्चित अवधि तोकेर नतिजा प्रकाशन पनि गर्नु पर्छ । तब मात्र सबैको सकारात्मक दृष्टि त्रिविप्रति रहन्छ,” भन्ने सम्बोधन गर्नुभएको थियो । यति कुरा सुनिरहँदा म आफैँले स्नातक तहमा परीक्षा सकिएको १८ महिनापछि नतिजा प्रकाशित भएको त्रिविको इतिहास सम्झेँ । २०२५ को दीक्षान्त कार्यक्रममा उत्तीर्ण वर्ष २०२३ उल्लेख छ । यो हराएको समयलाई सायद प्रधानमन्त्री सुशीला कार्कीले सङ्केत गर्नुभएको थियो ।
लामो समय बस्दा पनि समय बितेको पत्तै भएन तर एउटा कुरो पूरै समयभरि खड्किरह्यो । त्यति ठुलो रङ्गशालामा भएको कार्यक्रममा माइकको व्यवस्था राम्रो थिएन । उत्तरपट्टि कुनामा रहेको मञ्चमा बोलेको कुरा नजिकै त बल्लबल्ल सुनिन्थ्यो । दक्षिणतर्फका सहभागीले खासै नसुनेको कुरा कार्यक्रमबाट बाहिरिँदै गर्दा गुनासो सुनिएको थियो । यति ठुलो सङ्ख्याको उपस्थितिमा कार्यक्रम गर्दा त्रिविले माइक व्यवस्थापनमा ध्यान पु¥याउन सकेको भए ५१ औैँ दीक्षान्त समारोहको सुगन्ध झनै फैलिने थियो भन्ने अनुभव मलाई भयो ।