कात्तिक महिनाको २ गते भर्खरै दसैँ सकिएर तिहार लाग्ने सुरसार हुँदै थियो । गाउँघरका आँगनका डिलमा सयपत्री, मखमली, घडीफूलसँगै रातमा पारिजात फूल मगमग बास्ना छर्दै फुल्न थालेको थियो । कात्तिक महिना बिहानबेलुका हलुका चिसो बडेसँगै जोगी रातमा भूतप्रेत देसान मसान छेक्न फेरी हाल्दै गाउँघर घुम्न थालिसकेका थिए । तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ, सिक्किम युनिभर्सिटी लिम्बू डिपार्टमेन्टका भिजिटिङ प्रोफेसर केलाङविद् आइत खजुम, धरानका लेखक कवि अमित थेबेसँग हाम्रो भेट इटहरी चोकमा भयो ।
काग तिहारको दिन भएर होला बजारमा चकलेट, मिठाई, सप्तरङ्गी टीका र फलफूल किन्ने मानिसको निकै चहलपहल देखिन्थ्यो । हामी इटहरीको गोरखा डिपार्टमेन्टको कफी सपमा कफी पिएर साप्लालुङ मुन्धुमीगाउँ घुम्न पूर्वतिर हुँइकियौँ । महेन्द्र राजमार्गको दायाँबायाँ भएका सबै रुख ढालेका रहेछन् । महेन्द्र राजमार्गलाई एसियन हाइवेको नाममा विशालकायको बनाउँदै रहेछ । सडकभरि धुलोको कुहिरो लागेर आँखा हेर्न नसक्ने गरी मडारिँदै थियो । हामी त्यही धुलो चिर्दै कानेपोखरी पुग्यौँ । कानेपोखरीको खिर पूर्वमा निकै चर्चित छ । सडकदेखि दक्षिणतिरको पारिजात होटेलमा खिर र आलुतामाको तरकारी खायौँ । खिर खाँदाखाँदै चुरे क्षेत्रको फेदी लेटाङ बजारबाट एउटा बस कानेपोखरी आइपुग्यो । बसको छत डोको, मान्द्रो, सिन्काउलीको पत्ता अम्रिसोको कुचोले भरिएको थियो ।
खिरको स्वाद जिब्रोमा लिएर पथरीतिर लाग्यौँ । सडकको उतरपट्टि र दक्षिणपट्टि चारकोसे जङ्गल । जङ्गलको बिचमा सडक । सडकको दायाँबायाँ ठुलठुला सालका रुख । सडकको छेउ छेउमा घाम ताप्न निस्किएका बाँदर हेर्दाहेर्दै हामी जिरी–खिम्ती पुग्यौँ । मोरङीखोलाको खोल्सैभरि सिमेसागको खेती गर्दा रहेछन् । मोरङीखोलाको बगर सिमेसागले हरियै देखिन्थ्यो । केहीबेर गाडी रोकेर हे¥यौँ । जिर–खिम्ती बस्ती साँच्चिकै रमाइलो थियो– चारैतिर जङ्गलले घेरेको बिचमा सुन्दर बस्ती । जङ्गलनजिकै भएर होला गाईगोरु, खसीबाख्रा डासखोलाको बगरमा बाक्लै चर्दै थिए । हामी केही समय रमिता हेरेर डासखोलालाई पार गर्र्दै पथरी बजारतिर हँुइकियौँ । सडकनजिकै जङ्गलमा बनाएको सेतै कपुरथान हेर्दै । बाक्लै कपुरथान देख्दा लाग्थ्यो यस क्षेत्रमा मूलवासीको घना बसोबास छ । कपुरथान हेर्दाहेर्दै पथरी बजार पुग्यौँ । सडकको उतर र दक्षिणपट्टि बाक्लै पक्की घरहरू । पथरी बजारभन्दा उतरपट्टि विशाल हरियो चारकोसे जङ्गल । पथरी बजारको बिच भागबाट उत्तर जाने बाटो रहेछ । बाटोनजिकै एउटा सार्वजनिक शौचालय । शौचालयभन्दा सय मिटर उत्तरमा इलाका प्रहरी कार्यालय रहेछ । इलाका प्रहरी कार्यालयको ढोकाअगाडिको बाटो जाँते हुँदै धनकुटा बुधबारे जाने रहेछ । हामी पथरी बजारको पूर्र्वपट्टि भएर दक्षिणतिर मोडिँदै शिखरचोक हनिमुन चोकलाई छाड्दै ओरालो झ¥यौँ । खेतका गरामा धानका बाला पहेँलै झुलेको हेर्दै आइतबारे पुग्यौँ । आइतबारे पुरानो बजार रहेछ । केहीबेर चिया पिउँदै बस्यौँ । आइतबारेमा हुलाक कार्यालय रहेछ । हुलाकी दाइ झोलामा चिठी बोकेर साइकलको घन्टी बजाउँदै उकालो लागे । हामी पनि चिया पिएर आफ्नो गन्तव्यतिर ओरालो झ¥यौँ– पथरी–रङ्गेली सडकखण्डको बाटो हुँदै । पिपलचोक पुग्दा बुढा लिम्बूहरू भेला भएर पोथी सुँगुर मारेर पोल्दै थिए । कागतिहारको दिन भएर होला तास खेल्ने ठुलठुला स्वरमा पाना तीन, इँटा दुई, भन्दै कराउँदै थिए । कोही क्यारमबोर्ड खेल्दै थिए । पिपलचोकलाई छाड्दै सुन्दरीचोक साप्लालुङ पुग्दा दिउँसोको २ बजिसकेको थियो । साप्लालुङ (ढुङ्गाको शिला कागज) विशाल रहेछ । टाढैबाट देखिने लावाखोलाको किनारमा मुन्धुमी अस्तित्वलाई थामेर बसेको देख्दा श्रद्धाले शिर झुकाउँदै दुई हात जोडेर सेवा ग¥यौँ ।
साप्लालुङनजिकै पुग्दा मलाई बाल्यकालको याद झलझली आयो । बाल्यकालमा पहाडका गाउँघरमा गाडिएका यस्ता ढुङ्गा देख्दा किन गाडिएका होला भन्ने मनमा कौतूहल भइरहन्थ्यो । बुवाआमाले भन्थे, “ढुङ्गानजिक नजानू फोहोरमैला नपर्नू । ढुङ्गाको वरिपरि गएर मनपरी नबोल्नू । दिसापिसाब नगर्नू । पुर्खाको आत्माले पिरोल्छ भन्थे ।” पछि थाहा हुँदै गयो ढुङ्गा र याक्थुङ्बा लिम्बूहरूको सम्बन्ध निकै गहिरो नङ र मासुको जस्तै हुँदोरहेछ । जन्मदेखि मृत्यु पर्यन्तसम्म । आफ्नो उत्पत्ति स्थललाई थामालुङ, माङ्गेनालुङ, माङ्गेना लुङधुङ भन्ने रहेछ । सुस्वास्थ्य, दीर्घायुका लागि कुलदेवता, वनदेवता पुज्दा थान थापना राख्दा गाडिने ढुङ्गालाई काम्याङलुङ भनिने रहेछ । सुँगुरको साँढलाई खोरिया साँध्न लगाएर जमिनको स्वामित्व लिने चलनलाई योपालुङ भनिने रहेछ । आपसी झै झगडा मिलाएर गाडिने ढुङ्गालाई इन्दोलुङ भन्ने गरिँदो रहेछ । सभा बसेर न्याय निसाफ दिएपछि दुबो छुवाएर साक्षी प्रमाणसहित गाडिने ढुङ्गालाई साम्योकलुङ भनिने रहेछ । ढुङ्गा गाडेर न्याय दिन बस्ने सभालाई चुम्लुङ पक्वा, चिताएको पुगेपछि वा समृद्ध प्राप्ति भएपछि गाडिने ढुङ्गोलाई चोःलुङ, मरेपछि चिहानमाथि गाडिने ढुङ्गालाई सुःलुङ भनिने रहेछ । याक्थुङ मुन्धुमले भन्छ– पुर्खाका आत्माले प्रकृतिलाई कज्याएर राखेको हुन्छ । आगो, पानी, ढुङ्गा, माटो, रुखपात, पशुपन्छीमा जताततै आत्मा बसेको हुन्छ । आत्मा खुसी भएमा वंश, परिवार र समाजमा सुस्वास्थ्य, दीर्घायु र समृद्धि निम्तिन्छ भन्ने विश्वास पाइन्छ । यदि आत्मा रिसाएमा रोगव्याधि, बाढीपहिरो, महामारी, अनिकाल निम्तिन्छ । त्यस कारण आत्मालाई पवित्र मान्ने चलन छ । आत्माको पुकार मुन्धुममार्फत लिम्बूहरूका देवारीहरू फेदाङ्मा, साम्बा, येमाहरूले गर्छन् । यस कारण लिम्बू जातिमा ढुङ्गाको बढी महìव हुने गर्छ । साप्लालुङ (ढुङ्गाको शिला कागज) मुरुमसिक्लाङ (मूल खम्बा ) येलेस्तम्भ राजकुमार पालुङ्वाको परिकल्पनामा मिलन नाल्बोले, मबिन्द्र नाल्बोको सहयोगमा चालिस फिट लामो सालको (मूल खम्बा) मुरुमसिक्लाङ, येलेस्तम्भ, बाइस फिट लामो साप्लालुङ (ढुङ्गाको शिला कागज) ल्याएर गाडेका रहेछन् । बर्सेनि माघ महिनाको १३, १४ र १५ गते तीन दिनसम्म विशाल येले मेला लाग्दोरहेछ । साप्लालुङ (ढुङ्गाको शिला कागज) अरुण सप्तकोसीपूर्व लिम्बुवानकै सबैभन्दा ठुलो ढुङ्गाको शिलास्तम्भ हो । सप्लालुङभन्दा सात सय मिटर पश्चिमपट्टि मानवनिर्मित १५० मिटर अग्लो मोरङ्लुङ माङखोदेन पहाड छ । आजभोलि त्यहीँ अग्लो पहाडमा सबै गाउँका याक्थुङ्बा लिम्बूहरू भेला भएर पाकेको आन्नआली हुक्सोत मिसाउँदै याक्वा यामाङ उँभौली, चासोक थिसोक उँधौली गर्दा रहेछन । साप्लालुङ, मुरुमसिक्लाङ (मूल खम्बा) येलेस्तम्भ, मोरङ्लुङ माङखोदेन अग्लो पहाडलाई चारैतिरबाट सवा हाङजङ, चोमालुङ, सिरिजङ्गा, थोकफेक्ला पाङ्फे, मुन्धुमी पाङ्फे, फुङनाम पाङ्बे जस्ता धेरै गाउँलेले घेरेर राखेका छन् । गाउँ र चोकका नाम लिम्बू भाषाबाटै राखिएका रहेछन् । त्यस्तै फक्ताङ्लुङ रङ्गशाला, सिरिजङ्गाको सालिक, इमानसिङ चेमजोङको सालिक, लाल्सोर सेन्दाङको सालिक, कमल छाराहाङको सालिक निर्माण गरिएको रहेछ । कर्ण नाल्बोले १८३१ को गोर्खा लिम्बुवानको सन्धि तामापत्र ढुङ्गामा सिरिजङ्गा लिपिमा लेखेका रहेछन् । आजभोलि मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका–३ स्थित साप्लालुङ, मोरङ्लुङ माङखोदेन मुन्धुमीगाउँ घुम्न टाढा टाढाबाट आउँदा रहेछन् ।
साप्लालुङ ढुङ्गाको शिला साँच्चिकै विशाल अजङ्गको रहेछ । धित मर्ने गरी हे¥यौँ र सामूहिक तस्बिर लियौँ ।
लावाखोलाको डिलमा चिसो हावा चलिरहेको थियो । हावाको झोकसँगै हामीले आनन्द लिँदै फेन्जे तरङ्ग (फलामे झोलुङ्गे पुल) माथि बसेर सिमसारमा पाइने प्रजातिका पानीहाँस, हुटिट्याउ, सिमकुखुरा, सारस, बकुल्ला, टङरङ्गे खेलेको हेर्दै आनन्द लियौँ । लावाखोलाभन्दा पाँच सय मिटर पश्चिम जाँदा पाङ«ेझलास पुगिन्छ । पाङ«ेझलासमा धिमाल जातिको रीतिरिवाज वेशभूषा अवलोकन गर्दै धिमाल खाना परिकार चिचिरी, बबिया र लुम, गुन्द्रो खाका, लेउमुची, हाँसको अन्डा, माछा र निगारको स्वाद लियौँ । त्यहाँबाट कञ्चनजङ्घा निकै सुन्दर देखिने रहेछ ।
साप्लालुङ हेर्न आउने पाहुनालाई सेवा सत्कार गर्न त्यस ठाउँका समाजसेवी रुखमान आङ्थुपो लिम्बूले स्विमिङ पुलसहितको चोमालुङ फार्म हाउस निर्माण गरेका रहेछन् । हामीलाई खादा लगाएर स्वागत सम्मान गर्नुभयो । चोमालुङ फार्म हाउसमा लिम्बू जातिका खानाका परिकार याङ्बेन, सुँगुरको साग्र्याङ, कोदोको तुङ्बा, सुकुटी, सुँगुरको सेकुवा, ढिँडो, लोकल भालेको सुप र चिम्बिङ खानाक्पा टिमुर मिसाएको अचारसहितको स्वादिलो मिठो खाना खान पाइँदोेरहेछ । हामीले साँझको खाना चोमालुङ फार्म हाउसमा खायौँ । हामी पुग्दा चोमालुङ फार्म हाउस पाहुनाले भरिभराउ थियो । चोमालुङ फार्म हाउसमा साँझ परेपछि गाउँघरका तुतु तुमेयाङहाङहरू भेला भएर हाक्पारे फुङ्वा चाङ्मा, फूल जोगाउने मुन्धुम गाउँदा रहेछन् । हामी पनि मध्यरातिसम्म हाक्पारे सुन्दै रमायौँ–
नेत्ति चाङ चाङरो ।
कुभुङ चाङ चाङरो ।
नेत्ति मेन्लेम ए ।
कुभूङ मेन्लेम ए ।
चाङ्घि मेतुम्लो ।
थोबो मेतुम्लो ।
नेत्ति थाङ फुरुरो ।
कुभुङ थाङ फुरुरो ।
मेन्छ्याम फुङहारो ।
नामयाप्मि फुङहारो ।