• २७ पुस २०८२, आइतबार

खोज्नै बाँकी नालापानी युद्ध

blog

अङ्ग्रेजसँग भएका विभिन्न लडाइँमध्ये नालापानीको युद्ध नेपाली इतिहासमा निकै महìवपूर्ण र साहसिक मानिन्छ । देहरादुनदेखि दुई कोस (चार माइल) उत्तरपूर्वमा नालापानीको किल्ला रहेको छ । यो किल्ला बनाउन मद्दत गर्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहले नहानमा रहेका बडाकाजी अमरसिंह थापाका छोरा रणवीरसिंह थापालाई पत्र लेखेका थिए । यसबाट नालापानी किल्लाको महत्व थाहा पाइन्छ ।  नेपालका प्रसिद्ध इतिहासकार सूर्यविक्रम ज्ञवालीले वीर बलभद्र,  डा. महेशराज पन्तद्वारा पूर्णिमामा प्रकाशित नालापानीको लडाइँ र वेदबहादुर खड्का लिखित ‘रम्दीकोटे पुवार खड्का वंशावली’ मा नालापानी युद्धसम्बन्धी ऐतिहासिक दस्ताबेज प्रस्तुत गरेका छन् । 

नालापानी युद्धमा स्वयम् संलग्न जनरल फ्रेडरिकले आफ्नो जीवनवृत्तान्तमा किल्लाको वर्णन यसरी गरेका छन्, “३५ वर्षका युवा कप्तान बलभद्र कुँवरले ३५ वटा छाप्रोको सहर बनाएका थिए । यस सहरमा किल्लाको वरिपरि अधिकारीहरूका निम्ति विश्रामगृह, सैनिक आवास, स्थानीय महिलाका निम्ति फुर्सदमा बस्ने घर, शास्त्रागार, भान्साघर, गोठ, तालिम र खेल मैदान थिए । अन्न र खाद्यान्न वस्तुका निम्ति भण्डारगृह बनाइएको थियो । उनको धेरै समय पहाडको तल्लो भागदेखि प्रतीरक्षात्मक किल्लाको पर्खाल बनाउन लागेको थियो जहाँ सङ्कलित राजस्वको भण्डारण, दुध दिने गाई र युवती चोरेर लैजाने चोरका विरुद्ध गोर्खालीलाई सचेत गराउने भवन बनाउनमा व्यतीत भएका थिए । यिनले किल्लाको उत्तरतर्फ बगिरहेको खोलाबाट किल्लाभित्र पानी ल्याएका थिए ।” 

युद्धमा संलग्न कर्णेल सेक्सपियर लेख्छन्, “यो नेपालीसँगको पहिलो कडा युद्ध थियो, जहाँ पुरुषले मात्र होइन, महिलाले पनि आफ्नो शक्तिको प्रदर्शन गरेका थिए । यस्तो अपूर्व युद्ध मैले देख्न पाएको थिइनँ ।” 

आफ्नै आँखाले नालापानीको युद्ध देखेका जेबी फ्रेजरले नालापानी युद्ध सकिएपछि सन् १८२० मा प्रकाशित जर्नल ‘अफ ए टुर थु्र पार्ट अफ दी स्नोई रेन्ज अफ दी हिमालयन माउन्टेन एन्ड दी सोर्सेज अफ रिभर जमुना एन्ड गङ्गा’ मा लेख्छन्, “अनि महिला र बालबच्चाका गोली र तोपका गोलाले क्षिप्तविक्षिप्त भएका शरीर देखिन्थे जो बाँचेका थिए तिनले कैयाैँ दिनसम्म पानी चाख्न नपाएर छटपटिएका थिए ।” 

डा. महेशराज पन्तद्वारा नालापानी युद्धको प्रारम्भिक अवस्थाको वर्णन यसरी गरिएको छ, “३,५०० फौज र एक तोप लिएर गङ्गा र यमुनाको बिचको नेपाली प्रदेश जित्ने अभिप्रायले अङ्गेजतर्फबाट जर्नेल जिलेस्पी अगाडि बढेका थिए । उनको मुकाबिला गर्न देहरादुनभन्दा पुग नपुग दुई कोस उत्तरपूर्वको नालापानी भन्ने ठाउँको चार सय हात जति अग्लो पहाडमा कप्तान बलभद्र कुँवर केही सेना लिई बसेका थिए ।” डा. पन्तले लेख्नुभएको छ, “१८७१ कात्तिक ८ गते अङ्ग्रेज फौज देहरादुन आयो । कात्तिक १० मा अङ्ग्रेज फौज र नेपाली फौजबिच भएको युद्धमा अङ्ग्रेज फौज पराजित भई देहरादुन फर्कियो । फेरि कात्तिक १७ मा नेपाली फौज र अङ्ग्रेज फौजबिच नालापानीमा भएको युद्धमा अङ्ग्रेज सेनापति जिलेस्पी मारिएका थिए । यस युद्धमा आठ जना अङ्ग्रेज सेनापति, हजार÷१२ सय अङ्ग्रेज सेना मारिएका र १७/१८ सय घाइते भएका थिए ।” 

मङ्सिर ११ मा नालापानीमा भएको युद्धबारे पूर्णिमामा यसरी बयान गरिएको छ, “मङ्सिर ११ दिल्लीबाट तीन वटा ठुला ठुला तोप नालापानीमा आइपुगेका थिए । मङ्सिर १२ गते दिउँसो २:३० बजे अङ्ग्रेज सेनाले नालापानीमा आक्रमण ग¥यो । यस युद्धमा पनि अङ्ग्रेज सेनाको हार भयो । मङ्सिर १४ मा बिहान ९ बजे अङ्ग्रेज सेनाले फेरि नालापानीमा आक्रमण गरेको थियो । यस युद्धमा सात जना अङ्ग्रेज सेनापति र चार सय अङ्ग्रेज सेना मारिएका र ८१९ जना घाइते भएका थिए ।” 

अङ्ग्रेज सेनाले नालापानी किल्लाभित्र आउने पानी बन्द गरिदिँदाको अवस्था वर्णन ‘पूर्णिमा वर्ष १ अङ्क २’ मा यसरी गरिएको छ, “मङ्सिर १५ आधा रातको कुरा हो । कप्तान बलभद्र कुँवर सरदार रिपुमर्दन थापा, चामु बस्न्यात, गन्जसिंह थापा भात पकाउने पानी नभएको हुनाले काँचो चामल चपाइरहेका थिए । त्यसै समय प्यासले तिर्खाएका नेपाली सेना किल्ला छोडेर निस्कँदा किल्लामा ५०÷६० जना मात्र बाँकी रहेका थिए । कप्तान बलभद्र कुँवरसमेत नेपाली सेनाले किल्ला परित्याग गरी गोपीचन्दको डाँडामा पुग्दा अङ्गे्रज सेनाले चलाएको गोली लागि घाइते भएका थिए । त्यसबखत गढवालको सदरमुकाम श्रीनगर नेपाल अन्तर्गत पर्दथ्यो । त्यही चामु बस्न्यातसमेत ७५ जना घाइते सिपाहीको नेपाली चिकित्सकद्वारा उपचार भएको थियो ।” 

पूर्णिमाको उक्त अङ्कमा सरदार रिपुमर्दन थापाले मुख्तियार भीमसेन थापा र बडाकाजी अमरसिंह थापाका छोरा काजी रणध्वज थापालाई लेखिएको पत्रमा सुबेदार दयाराम खड्कालाई तोपको छर्रा तिघ्रामा लागि किल्लामा रहेका थिए भनी लेखिएको छ ।

पूर्णिमामा लेखिएको छ, “हामीलाई आउन दिइएन भनी सुबेदार दयाराम खड्का किल्लामा नै रहेका थिए । सबैले किल्ला परित्याग गर्दा पनि तिघ्रामा तोपको छर्रा लागे पनि अन्तिम समयसम्म सुबेदार दयाराम खड्काले अङ्ग्रेजसँग युद्ध गर्दागर्दै वीरगति प्राप्त गरेका थिए ।”

यिनै दयाराम खड्का वंशका पूर्वनेपाली सेनाका अवकाशप्राप्त जमदार वेदबहादुर खड्काले लेखेको ‘रम्दीकोट पुवार खड्का वंशावली’ पुस्तकमा नालापानी युद्धका योद्धा दयाराम खड्काको जीवनी र ऐतिहासिक चिठीपत्रहरू भन्ने छुट्टै पाठमा, १८२० (सन् १७६३) सालमा प्युठान रम्दीकोट कुँवर खड्का खलकमा जन्मिएका दयाराम खड्का १४/१५ वर्षकै उमेरदेखि सेनामा भर्ना भई कम्पनी कमान्डर (सुबेदार) सम्म भएको कुरा उल्लेख छ । 

उक्त पुस्तकमा दाजु दयाराम खड्का र भाइ भयाराम खड्का दाजुभाइले सेनामा भर्ना भई बाइसे राज्य अन्तर्गत पर्ने अछाम र जुम्ला जस्ता ठाउँमा युद्धमा संलग्न भई १८६९ सालमा दाजु दयारामले वीरतास्वरूप बिर्ता पाएको लालमोहर सुरक्षित रहेको उल्लेख छ ।

दाजुभाइ पश्चिमतर्फ लडाइँमा जाँदा बाटामा पाला र कैँची गाडेर जानु जो फर्किन्छ उसले पाला र कैँची लिएर जाने र नफर्किने युद्धमै रहेको कुरा लेखिएको छ । पश्चिमतर्फ युद्धबाट दयाराम खड्काले बिर्तासम्बन्धी लालमोहर पाएको कुरा उल्लेख गरिएको छ । विसं १८७२ वैशाख वदी ८ मा धर्मराज खत्रीले प्युठान सिकुवाडाँडाबाट जनरल भीमसेन थापा र काजी रणध्वज थापालाई लेखेको पत्रमा भाइ दुई जमदार हवलदार भई सुबेदार दयाराम खड्का, सुबेदार देवीभक्त खड्काको साथमा पश्चिम मोडा गएको कुरा लेखिएको छ । संवत् १८७२ कात्तिक ५ रोज २ मा सुबेदार दयाराम खड्काका छोरा मर्दवीर खड्काको नाममा गरिदिएको लालमोहरमा ‘आगे मर्दवीर खड्काको बावु दयाराम खड्काले हाम्रा काजमा नालापानी फिरंगि सँगको लडाईमा जिउ दिदाँ जिल्लै प्युठान मध्ये खेत मुरी १/७ मरवट दिएको’ कुरा उल्लेख गरिएको छ । उक्त लालमोहरमा पछाडिपट्टि भीमसेन थापा र रणध्वज थापाको हस्ताक्षर रहेको छ ।