• २६ पुस २०८२, शनिबार

रेसुङ्गाको नगरसभा : विधेयक पारितसँगै ऐन संशोधन

blog

नगरसभामा नगरप्रमुख खिलध्वज पन्थी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस २५ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो ।

नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा भएको १८ औं नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ निर्णयार्थ सर्वसम्मत पारित गरिएको छ । विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले सो विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिकाको विनियोजन ऐन, २०८२ र रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो । नगरप्रमुख पन्थीले नगरसभामा आर्थिक वर्ष २०८२–०८३ को हालसम्म भए गरेका सम्पूर्ण प्रगतिको बारेमा जानकारी गराउनुभयो । समुन्नत नगर निर्माण र हरेक क्षेत्रमा देशकै उत्कृष्ट नगरपालिका बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनलाई निकै प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

यसैगरी, शून्य समयमा नगरसभा सदस्य कृष्णप्रसाद भण्डारीले सार्वजनिक चासोको विषयमा आफ्नो धारणा राख्नुभयो । विगतदेखि नै आफूले उठाएका मागहरु क्रमशः सम्बोधन हुँदै गएको भन्दै उहाँले सबै जनप्रतिनिधिको समन्वय र सहकार्यमा समुन्नत नगरपालिका निर्माण गर्न सकिने बताउनुभयो ।