सर्लाही समाचारदाता
सर्लाही, पुस २५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले का लागि तीन हजार ९२६ जना निर्वाचन प्रहरी भर्ना गर्नु भनी गृह मन्त्रालयबाट कोटा तोकेर आएको जानकारी दिनुभयो ।
मन्त्रालयको निर्देशनबमोजिम शुव्रmबारदेखि आगामी माघ १ गतेसम्म सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयपरिसरमा निर्वाचन प्रहरी भर्नाको दरखास्त लिन सुरु गरिने डिएसपी राईले बताउनुभयो । उहाँका अनुसार सर्लाहीका लागि तीन हजार ९२६ जना निर्वाचन प्रहरीको कोटा तोकिए पनि महिला र पुरुष कति जना नियुक्त गर्ने भन्ने छुट्याइएको छैन । तीन हजार ९२६ जनामध्ये जिल्लाले नै आवश्यकता अनुसार महिला, पुरुषको छनोट गर्ने डिएसपी राईको भनाइ छ ।
यसअघिको स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भएका व्यक्ति, विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक, पूर्ववनरक्षक, पूर्वप्रहरीलगायतलाई प्राथमिकता दिएर निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । निर्वाचन प्रहरीलाई नियुक्ति पाएका मितिले कम्तीमा ४० दिन र यदि सरकारले निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोहीबमोजिम हुने छ ।
गृह मन्त्रालयले जिल्लामा रहेका मतदानस्थलको सङ्ख्या र संवेदनशीलताको अवस्थालाई हेरेर प्रत्येक जिल्लामा निर्वाचन प्रहरीको कोटा निर्धारण गरेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदान स्थलमा ६२८ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लाका ३१२ मतदान स्थलमध्ये सुरक्षाको हिसाबले २३ वटा सामान्य, १३१ वटा संवेदनशील र १५८ वटा अति संवेदनशील सूचीमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी भर्नाको प्रव्रिmया अघि बढ्दै गर्दा जिल्लामा निर्वाचन कार्यालयले समेत तयारीको काम धमाधम अगाडि बढाएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले आफू विभिन्न निर्वाचन सामग्री लिन अहिले काठमाडौँस्थित निर्वाचन आयोग पुगेको बताउनुभएको छ । जिल्लामा जिल्ला निर्वाचन कार्यालय आफैँले खरिद गर्ने विभिन्न सरसामग्रीको खरिद प्रव्रिmयासमेत अघि बढिसकेको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ ।
उहाँका अनुसार फागुन २१ को निर्वाचनका लागि सर्लाहीमा पाँच लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भइसकेका छन् । निर्वाचनका लागि जिल्लाबाट अधिकांश राजनीतिक दलले केन्द्रीय समितिमा आकाङ्क्षी उम्मेदवारको नामावलीसमेत पठाइसकेको छ । चोक, चौतारा, बजार र चिया पसलमा निर्वाचनबारे व्यापक चर्चा हुन थालेको छ ।