• २६ पुस २०८२, शनिबार

दुई जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने सडक अलपत्र

blog

केराबारीबाट जेफालेतर्फको सडकमा पर्ने बत्तिसजुरे भिर । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी (मोरङ), पुस २५ गते  । ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो सडकका रूपमा छ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी– सिंहदेवी सडक अलपत्र भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले विसं २०७६ साउन २० गते ठेक्का लगाएको सडकको काम निर्माण कम्पनीले छोडेपछि अलपत्र भएको हो ।

उत्तरी मोरङको केराबारी–२, सिंहदेवीस्थित पर्यटकीय क्षेत्र जेफालेसँग सडक सञ्जाल जोड्ने उद्देश्यले ठेक्का लागेको यो सडक २५ किलोमिटर लामो छ । सम्झौता अनुसार २०७६ भदौ १० गते काम सुरु गरेर २०७८ भदौ ८ गते काम सम्पन्न गर्नुपर्ने थियो । कान्छाराम कन्स्ट्रक्सनले ठेक्का लिएको सडकको कुल लागत ७० करोड ४९ लाख २९ हजार ३५५ रुपियाँ रहेको छ । पटक पटक गरी छ पटक म्याद थप गरी पछिल्लो पटक २०८० असार ३० गते काम सक्ने सहमति भएको थियो । पछिल्लो म्यादमा पनि काम सम्पन्न नभएपछि सहरी विकास मन्त्रालयले २०८१ चैत १४ गते ठेक्का सम्झौता खारेज गरेको छ ।  

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना प्रमुख शालिकराम देवकोटाका अनुसार यो सडक र मोरङकै लक्ष्मीमार्ग–डाँगीहाट–बनौल–बबियाबिर्ता हुँदै अमाहीबरियाती जोड्ने सडक संयुक्त रूपमा ठेक्का लागेको हो । पूर्वपश्चिम राजमार्गको बेलबारी–११, भाउन्नेबाट दक्षिणतर्फ जाने तराईको यो सडक र राजमार्गकै सुन्दरहरैँचा–९ बाट उत्तरतर्फ जाने खोर्साने–केराबारी–सिंहदेवीको पहाडी सडक दुवै अलपत्र अवस्थामा छन् । आयोजना प्रमुख देवकोटाले भन्नुभयो, “दुवै सडक संयुक्त रूपमा ठेक्का आह्वान भएकाले एउटा सडकको मात्र भौतिक तथा वित्तीय प्रगति देखिँदैन । ठेक्का सम्झौता खारेज हुनुअघिसम्म ५५ प्रतिशत भौतिक र ४४.३७ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । आयोजनाले निर्माण कम्पनीलाई ३५ करोड १६ लाख २२ हजार ६१४ रुपियाँ भुक्तान गरिसकेको छ ।” 

खोर्साने–केराबारी–सिंहदेवी सडकको १६ किलोमिटर सडक पूरै पहाडी क्षेत्रमा पर्छ । केराबारी–२ का वडाध्यक्षसमेत रहेका सडक उपभोक्ता प्रेमबहादुर लिम्बूले भन्नुभयो, “मदन भण्डारी राजमार्गलाई चिरेर जाने यो सडक भेडेटार–राँके–रवि सडक जोड्ने रणनीतिक महŒवको सडक हो । ताप्लेजुङका मानिस इलाम, झापा नझरीकन एकै पटक केराबारी निस्केर विराटचोक हुँदै विराटनगर पुग्न सक्ने थिए । प्रदेशको राजधानीसँग छोेटो सडकले ताप्लेजुङ र पाँचथरका बासिन्दालाई जोड्ने यो सडकले समय र खर्च मात्र बचत गर्दैन, उत्तरी मोरङको पर्यटन विकास र कृषि उत्पादनको व्यापारका लागि निकै महŒव बोकेको छ ।” वडाध्यक्ष लिम्बूका अनुसार केराबारी उत्तर १३.६१ किलोमिटर मात्र काम 

भएको छ । रामपुरदेखि समेवासम्म स्तरोन्नतिको काम अघि बढेको छैन । 

मोरङ १ (२) का प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले सडक स्तरोन्नतिका लागि विभाग, विभागीय मन्त्रालय, प्रधानमन्त्री कार्यालयदेखि संसद्मा समेत पटक पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको बताउनुभयो । उहाँले ठेक्का सम्झौता खारेज गरेर चालु आवमा यही सडक सम्पन्न गर्न २० करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, दमक झापाका आयोजना प्रमुख सालिकराम देवकोटाले समेत पुनः ठेक्का प्रव्रिmयाको काम सुरु भएको र बहुवर्षीय स्रोत सहमतिका लागि मन्त्रालय पठाएको बताउनुभयो । 

उत्तरी मोरङको साबिक सिंहदेवी गाविसमा पर्ने जेफाले पर्यटन विकास केन्द्रले जेफालेमा होमस्टे सञ्चालन गरेको छ । मोरङकै सबैभन्दा ठुलो चिया बगान रहेको जेफालेमा भ्युटावर, मगर संस्कृतिका घरबास, सुन्तला बगान, भुइँस्याउ र अलैँचीको व्यावसायिक खेती हुन थालेकोे छ । सडक सञ्जाल नहुँदा केराबारी–२, सिंहदेवीका बासिन्दालाई पालिकाको केन्द्र आउन धनकुटाको भेडेटार पुगेर धरान हुँदै इटहरीबाट ११ किलोमिटर पूर्व खोर्साने आएर पुनः आठ किलोमिटर उत्तर जानु पर्छ । हिउँदमा साना गाडी र मोटरसाइकल छोटो बाटो भन्दै अत्यन्तै जोखिम मोलेर जेफाले जाने गर्छन् भने वर्षायाममा ४३ किमी घुम्नुको विकल्प छैन ।