शंकर केसी,
सल्यान, पुस २५ गते । सल्यानको छत्रेश्वरी गाउँपालिकाले अन्तर माध्यमिक विद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र पाँचौं अध्यक्ष कप सम्पन्न गरेको छ । रनिङ शिल्डमा पालिकाले एक सय ४४ पदक वितरण गरेको छ । २४ स्वर्ण, १४ रजत र ९ कास्य पदकसहित वडा नम्बर ६ को शारदा माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
यस्तै वडा नम्बर १ को भानुभक्त माध्यमिक विद्यालयले १२ स्वर्ण, १ रजत र ९ कास्य प्राप्त गर्दै दोस्रो भएको छ भने वडा नम्बर २ को जनता माध्यमिक बिद्यालय ८ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित तेस्रो भएको वरिष्ठ शिक्षा अधिकृत गणेश न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष कपअन्तर्गत पुरुष भलिवल प्रतियोगितामा वडा नम्बर २ पहिलो, वडा नम्बर ७ दोस्रो र वडा नम्बर १ तेस्रो भएको छ । यस्तै ब्याडमिन्टन तर्फ अनित श्रेष्ठ र खडग बहादुर खड्काको समूह पहिलो, मिलन वली र देवराज डाँगीको समूह दोस्रो तथा नेत्रनारायण भट्टराई र गणेश भण्डारी तथा हेमराज केसी र पवित्रबहादुर बिष्टको समूह तेस्रो भएको गाउँपालिकाले जनाएको छ । लोक गित प्रतियोगिता तर्फ गिता सुन्चौरी पहिलो, पार्वती विष्ट दोस्रो र तोला वली तेस्रो हुनुभएको छ भने कुर्सी दौडमा सरिता राना पहिलो, गिता सुन्चौरी दोस्रो र शुस्मा चन्द ठकुरी तेस्रो हुनुभएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । शारदा मावि शंखमुलको खेलमैदानमा सोमबारदेखि सञ्चालन भएको अध्यक्ष कप तथा रनिङ शिल्ड प्रतियोगिता बिहीबार साँझ समापन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढासहित अन्य जनप्रतिनिधी, विद्यालयका प्रतिनिधीहरुले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । समापन अवसरमा बोल्दै अध्यक्ष बुढाथोकीले खेलकुदमार्फत स्वस्थ, सक्षम र जिम्मेवार नागरिक तयार गर्ने लक्ष्यसहित गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।