इमान सिं राना
रामपुर (पाल्पा), पुस २५ गते । पाल्पामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, कालीआँपमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिदा रामपुर नगरपालिका–७ मझुवा बस्ने ६४ वर्षीय श्यामबहादुर सेन ठकुरीको मृत्यु भएको हो ।
कालीगण्डकी करिडोर सडकखण्ड हुँदै बर्दले बाट रामपुर तर्फ आउँदै गरेको लु ७८ प २८०७ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहनु भएका सेनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका सेनलाई उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । उहाँको उपचारको क्रममा अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा चालक र मोटरसाइकलको पछाडी सवार व्यक्ति समेत घाइते भएका छन् । चालक रामपुर नगरपालिका–६ तिलकपुर बस्ने २३ वर्षीय हिमाल राना मगरलाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । मोटरसाइकलको पछाडी सवार रामपुर ६ का २१ वर्षीय मेगबहादुर खन्गाहा सामान्य घाइते भएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।