• २६ पुस २०८२, शनिबार

चापाकोट महोत्सव आजबाट गाउँमा चहलपहल बनाउने योजना

blog

महोत्सवको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) पुस २५ गते ।
स्याङ्जाको चापाकोटमा ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ शुक्रबारबाट सुरु हुने भएको छ । कालीगण्डकी बेसीको समथर भूगोल भएको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी पूरा भएको छ । चापाकोट उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने मुल अभियानअन्तर्गत ‘चापाकोट महोत्सवको आधार, कृषि पर्यटन आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नारासहित महोत्सव गर्न लागिएको चापाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक निर्मल रानाले जानकारी दिनुभयो । तेस्रो पटक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला गर्न लागिएको रानाको भनाई छ । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको प्रवर्धन, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउने हाम्रो उद्देश्य हो ।”

महोत्सवलाई सफल बनाउन सुन्तिटार बजार क्षेत्रलाई सिँगारिएको छ । जसका कारण चापाकोटमा छुट्टै रौनकता देखिएको छ ।

महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला प्रदर्शनी, पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत विविध क्रियाकलाप सम्लग्न रहेको आयोजकको भनाइ छ । स्थानीय जातजातिको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, भजन–किर्तन, रत्यौली, माविस्तरीय हाजिरीजवाफ, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ कार्यक्रम समावेश गरिएको छ ।

कृषि विज्ञ र अगुवा किसानबीच कृषिमा सम्भावना विषयक अन्तरक्रिया, लन्डन ब्रिज र इफिल टावरको संरचना, हेलिकप्टरबाट रमणीय स्थलहरूको दृश्यावलोकन, कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ्ग) र उपयुक्त स्थलबाट प्याराग्लाइडिङबाटै महोत्सव अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष राना जानकारी दिनुभयो । जसको कारण चापाकोट क्षेत्र र गाउँको चहलपहल बढ्ने उहाँको विश्वास छ ।

झण्डै २५० व्यापारिक स्टल रहने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा एक करोड रुपियाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवबाट बचत हुने रकममध्ये करिब ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने भएको संघले जनाएको छ ।

शुक्रवारबाट सुरु हुने महोत्सवको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री टकराज गुरुङ्ले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष रानाले बताउनुभयो ।