• २६ पुस २०८२, शनिबार

लोपोन्मुख अवस्थामा ‘डफला बाजा’

blog

भैरहवा समाचारदाता

भैरहवा, पुस २५ गते । कुनै समय तराई मधेशका गाउँबस्तीमा गुञ्जने ‘डफला’ बाजा केवल सङ्गीतको साधन मात्र थिएन, यो समाजको सुखदुःख, संस्कार र परम्पराको अभिन्न हिस्सा थियो । शुभकार्यमा मङ्गल धुन र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक ताल बाजा अहिले आधुनिकतासँगै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ ।

समयसँगै भित्रिएका डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई ओझेलमा पारेको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले बताउनुभयो । उहाँका अनुसार लोकसंस्कारको पर्याय मानिने यो बाजा पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ ।

‘डफला’ नेपालमा अवध (मधेश) क्षेत्रको विशिष्ट पहिचान बोकेको प्राचीन र मौलिक ताल बाजा हो । सादगीपूर्ण बनावट भए पनि यसको ध्वनि गहिरो, गम्भीर र मिठासपूर्ण हुन्छ । सिसौ वा कर्माको काठबाट बनाइएको गोलाकार घेरामा बाख्रा वा गाईको प्रशोधित छाला मढेर यो बाजा तयार पारिन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा पातला लट्ठी (स्टिक) को सहायताले तालबद्ध रूपमा बजाइने डफला उल्लास, विरह तथा वीरगाथा गायनमा विशेष रूपमा प्रयोग हुँदै आएको छ ।

डफलाको ताल होली, दीपावली, पञ्चमीलगायत अवध मधेशका विभिन्न पर्व र संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ । वसन्त पञ्चमीदेखि गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ (फागु गीत) गाउने परम्पराले आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने गरेको छ ।

लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार डफलाको उत्पत्तिसँग आध्यात्मिक विश्वास जोडिएको छ । उहाँका अनुसार लोककथामा ‘डफला’ भगवान् शिवको डमरु र खैँजडीको विकसित स्वरूप मानिन्छ । भगवान् शिवले ताण्डव नृत्य गर्दा उत्पन्न ताललाई पृथ्वीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार डफला निर्माण गरिएको विश्वास गरिन्छ ।

अर्का डफला वादक मोछु चमारले आदिम कालमा मानिसले खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठमा छाला मढेर बजाउँदा डफला जन्मिएको लोकविश्वास रहेको बताउनुभयो तर आधुनिकतासँगै आफ्नो पेसा नै विस्थापित हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । सम्मरीमाई गाउँपालिका–७, बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार नयाँ पुस्तामा आधुनिक सङ्गीतप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक प्रतिफलका कारण डफलाको पुरानो वैभव स्मृतिमा मात्र सीमित हुँदै गएको छ ।

लोकसंस्कृतिका जानकार तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरईले डफला सिप निश्चित समुदायमा मात्र सीमित रहनु यसको सङ्कटको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार आधुनिक सङ्गीतले डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ बिस्तारै विस्थापित गर्दै लगेको छ ।