पितृसत्तावादी दृष्टिकोणका अनुसार पितृसत्तात्मक सामाजिक संरचनाभित्र महिलाको कुनै पनि स्थान र सम्मान हुँदैन, पितृसत्ताको ध्वंस नगरी महिलाको मुक्ति हुँदैन भन्ने विरोधाभासपूर्ण स्थिति स्वस्थानी व्रतकथामा देखा पर्दछ ।
स्वस्थानी व्रतकथा नेपालीको जनजीवनमा अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । यो कथा कसले र कहिले रचना गरेको हो भन्ने प्रामाणिक आधार भने पाइँदैन तर स्वस्थानी व्रतकथाका बारेमा नै विद्यावारिधि कार्य सम्पन्न गर्ने जेसिका ब्रिकेनहोल्जले स्वस्थानी व्रतकथा विसं १६०३ मा लेखिएको भन्ने सन्दर्भ उल्लेख गरेकी छन् ।
उनको अनुसन्धानमा स्वस्थानी व्रतकथा प्रारम्भमा नेवारी भाषामा लेखिएको र विसं १८६७ मा मात्र नेपाली भाषामा लेखिएको उल्लेख छ । यसै तिथिमितिलाई आधार मान्दा स्वस्थानी व्रतकथाले प्रतिनिधित्व गर्ने नेपाली समाज कृषि उत्पादनमा आधारित रहेको र राजनीतिक हिसाबले त्यतिबेला मल्लकालीन शासन व्यवस्था थियो भन्ने सङ्केत मिल्छ । नेपाली साहित्यमा यस कथाले माध्यमिककालको सूत्रपात गराएको भनेर व्याख्या गरिएको पाइन्छ ।
हरेक साहित्यलाई खास समय व्यवस्थाको उत्पादित ज्ञानको सङ्ग्रहका रूपमा लिनु पर्छ भन्ने मान्यता समाजशास्त्रीको छ । यस मान्यताका आधारमा हेर्दा स्वस्थानी व्रतकथाले माथि उल्लेख गरेको (मध्यकाल) मल्लकालीन शासन व्यवस्था र त्यतिबेलाको समाज व्यवस्थाको प्रतिनिधित्व गर्दछ ।
कथा सुन्ने, व्रत बस्ने परम्परा हालका मितिसम्म निरन्तर चलिरहेको छ । चार सय वर्षका बीचमा नेपाली समाज व्यवस्थामा थुप्रै फेरबदल हुँदै आए । शैक्षिक चेतनाको स्तर, प्रविधिको विकास, वैज्ञानिक अवधारणा, जातीय एवं महिलावादी आन्दोलनबाट सामाजिक मूल्य–मान्यता एवं राज्य सञ्चालनका स्वरूप पनि बदलिँदै गए । नेपाली समाज व्यवस्थाभित्रका अवयवमा जति फेरबदल भए पनि स्वस्थानी कथा सुन्ने, व्रत लिने परम्परा भने अद्यापि कायम नै रहेको छ ।
पौष शुक्ल पूर्णिमादेखिको एक महिनासम्म नेपाली समाजका घर घरमा स्वस्थानी पाठ गर्ने एवं विधिसहितको व्रत बस्ने महिला असङ्ख्य देखिन्छन् । यसबाट नेपाली समाजभित्र स्वस्थानी व्रत परम्परा एक अभिन्न संस्कृतिका रूपमा फैलिएको भन्न सकिन्छ । अर्कोतर्फ नेपाली साहित्यको खासगरी कथा विधा अध्ययन गर्ने अध्येताले स्वस्थानी व्रतकथाका माध्यमबाट नेपाली कथाको माध्यमिककाल सूत्रपात भएको मान्दछन् तर यसरी हेर्दा स्वस्थानी व्रतकथा नेपाली अध्येताहरू, जो नेपाली साहित्यसँग जोडिएका छन्, जो नेपाली समाज व्यवस्थाको अनुसन्धानसँग सम्बन्धित छन्, जो नेपाली सांस्कृतिक परम्पराको अध्ययनमा चासो राख्दछन् ती सबैका लागि सरोकारको विषय रहेको प्रतीत हुन्छ ।
तर अनुसन्धानमूलक लेखनमा स्वस्थानीको विषयवस्तु प्राथमिकतामा परेको अनुभव गर्न भने सकिएको छैन । कुनै नेपाली साहित्यको क्षेत्रमा स्वस्थानीका बारेमा विशद खोज गरेको तथ्य पनि फेला पर्दैन । त्यसै गरी नेपालको समाजशास्त्र, मानवशास्त्र, संस्कृति विषयसँग सम्बन्धित रहेर अध्ययन–अनुसन्धान गर्ने विद्वत्जनको दृष्टिमा पनि स्वस्थानी व्रतकथाको समाज व्यवस्था एवं सांस्कृतिक पक्षको खोजीका बारेमा नजर पुगेको तथ्य पनि सजिलो गरी प्राप्त भएको छैन । बरु विदेशी विश्वविद्यालय र विदेशी भूमिमा रहेर नेपाली समाज र संस्कृतिका बारे रुचि राख्ने दुई विद्वान्–विदुषीले स्वस्थानी व्रतकथाका विषयवस्तुमा जोडिएर विद्यावारिधि तहको अनुसन्धान पूरा गरेको तथ्य मात्र भेटिन्छ ।
स्वस्थानी व्रतकथाको कथा सारका दृष्टिले दुई वटा पाटो देखा परेका छन् । पहिलो पाटोमा सृष्टिका बारेमा चर्चा छ भने अर्को पाटोमा स्वस्थानी व्रतको शक्ति, विधि, प्रभावको चर्चा रहेको छ । सृष्टिको चर्चाभित्र पनि देवलोक, पाताल र मत्र्यलोकको सृष्टि सन्दर्भलाई अलग अलग रूपमा क्रमशः चर्चा गरेको देखिन्छ ।
३१ औँ अध्यायमा सङ्गृहीत भएका सम्पूर्ण कथा वस्तुभित्र ११ औँ अध्यायसम्म सृष्टि सन्दर्भ रहेको भेटिन्छ भने १२ औँ अध्यायबाट स्त्रीशक्तिको चर्चासँगै स्वस्थानी परमेश्वरीको शक्ति, स्वस्थानी व्रत विधि, व्रतको प्रभाव, व्रतको अपमानले प्राप्त हुने परिणाम आदिका बारे चर्चा पाइन्छ ।
सम्पूर्ण कथावस्तु भगवान् शिव अर्थात् महादेवको शक्ति, भक्ति, जीवनचर्याको वरिपरि घुमेको छ । पुरुषशक्ति र स्त्रीशक्तिबीचको समन्वयात्मक कार्य पनि देखिन्छ । कथावस्तुको अन्त्यमा पुरुषशक्तिमाथि विजय प्राप्त गर्न स्त्रीशक्तिकै खाँचो परेको सन्दर्भ पनि रहेको छ । सृष्टिको चर्चामा बढी केन्द्रित भएकाले यौन आशक्ति, यौन व्यवस्थापनका घटना जनाउने सन्दर्भ पनि भेटिन्छन् ।

स्त्रीशक्ति र पुरुषशक्तिबीचको सम्मिलनलाई विभिन्न सन्दर्भमा प्रस्तुत गरिएको छ । यो व्रत खास स्त्रीशक्तिको पूजा हो वा पुरुषशक्तिप्रतिको पूजा हो भन्नेतर्फ सोच्ने दृष्टि अनुसार भिन्नता पाइन्छ । स्वस्थानी परमेश्वरीको पूजा गर्ने अष्टदल यन्त्र हेर्दा यो पूर्णतः मातृशक्तिको पूजा हो भन्ने देखिन्छ । ब्राह्मी, महालक्ष्मी, चामुण्डा, इन्द्रायणी, वाराही, वैष्णवी, कौमारी र माहिश्वरीसहित अष्टमातृकाको बीच भागमा स्वस्थानी परमेश्वरीको आसन रहेको छ ।
अष्टमातृकासँग स्वस्थानी परमेश्वरीसमेतको गणना गर्दा नवमातृशक्तिको पूजन कार्य स्वस्थानी व्रतको बेला सम्पन्न हुने देखिन्छ । स्वस्थानी परमेश्वरीसँग शिवलिङ्गको पूजन, शिवको आराधना पनि जोडिएको पाइन्छ । यहाँनेर विचारणीय पक्ष के छ भने शिवलिङ्गको पूजा मात्र पुरुषशक्तिको पूजन होइन त्यो त सृष्टिको पूजा हो । स्त्री पुरुषको समागमको पूजा हो । त्यसैले शिवलिङ्ग पुजिरहँदा स्त्रीशक्तिको समेत पूजा हुने भएकाले स्वस्थानी व्रतमा खासगरी मातृशक्तिको पूजास्वरूप हो भन्न सकिन्छ ।
सृष्टिसँग सम्बन्धित यो कथाको जुन प्रारम्भिक खण्ड छ त्यसले मातृसत्ताको छनक दिएको छ । पछि मत्र्यलोकको कथा (लावण्यदेश, चन्द्रज्योतिनगर विशेष प्रसङ्ग) पितृसत्ता प्रधान समाजको विम्ब हो तर त्यो पनि मातृसत्ताको ऐतिहासिक जगमा निर्माण भएको संस्कृतिको प्रसार र हस्तान्तरणबाट परिपोषित थियो । त्यसैले मातृशक्ति र पुरुष शक्तिको समागम रूप विम्बमा शिव स्वरूप, आदिशक्ति स्वरूप मातृशक्तिको विम्बका रूपमा स्वस्थानी स्वरूपको सन्दर्भ जोडिएको देखिन्छ ।
सारमा पितृसत्तात्मक समाज व्यवस्था र कालखण्डले मातृशक्तिको उपासना, भक्ति तथा पूजनबिना मानवजगत्को दुःख दूर नहुने र मनोकाङ्क्षा पूरा नहुने सन्देशलाई व्रतकथाले प्रस्तुत गरेको पाइन्छ ।
समाजशास्त्रका आधुनिक सैद्धान्तिक आँखाले कथावस्तु नियाल्दा विविध स्वरूप देखा पर्दछन् । उद्विकासवादको आँखाले हेर्दा उद्विकासवादको क्रमिक विकासको मान्यता सादृश्य हुने गरी ब्रह्माण्ड सृष्टिमा देवलोक, पाताल, मत्र्यलोक क्रमशः सृष्टि प्रसङ्ग रहेको देखिन्छ ।
प्रसारवादी आँखाले हेर्दा पार्वतीको मनोकाङ्क्षा पूरा गर्न स्वस्थानी व्रत बसेको सन्दर्भको प्रसार हुँदै गराउँदै चन्द्रावतीसम्म सर्दै आइपुगेको देखिन्छ । द्वन्द्वको आँखाले हेर्दा भगवान् भगवान्बीच (शिव र विष्णु) देवीदेवताका बीचमा, देवता र दैत्यका बीच, घर परिवारजन (श्रीमान्–श्रीमती, आमा–छोरी, बाबु–छोरी, ज्वाइँ–ससुरा) बीचमा द्वन्द्वगत सम्बन्ध रहेको देखिन्छ ।
समग्र कथावस्तु द्वन्द्वकेन्द्रित देखिन्छ । त्यसै गरी सांस्कृतिक पर्यावरणको दृष्टिमा हेर्दा शिव–पार्वतीको दिनचर्या त्यहाँ जोडिएको भूगोल, हावापानीबाट प्रभावित भएको देखिन्छ । संरचनात्मक प्रकार्यवादी दृष्टिबाट हेर्दा विवाह, परिवार, नाता, सहकार्य, द्वन्द्व, राजनीति, घर आदि एकाइको समन्वयबाट त्यसबेलाको समाज व्यवस्था चलेको भन्न सकिन्छ ।
महिलावादी दृष्टिबाट हेर्दा पुत्र प्राप्तिको कामना, आफ्नो छोरा नभए मित छोरालाई प्रसाद दिने तर छोरीको प्रसङ्ग नआएको विभेदयुक्त संरचना देखिन्छ । पितृसत्तावादी दृष्टिबाट हेर्दा पितृसत्तात्मक संरचनाभित्र पनि मातृशक्तिप्रति भक्ति, आराधना, पूजा, शिव भगवान्ले ‘महाकाली’ मातृशक्तिसँग सहयोगका लागि गुहारेको दृश्य देख्न सकिन्छ ।
पितृसत्तावादी दृष्टिकोणका अनुसार पितृसत्तात्मक सामाजिक संरचनाभित्र महिलाको कुनै पनि स्थान र सम्मान हुँदैन, पितृसत्ताको ध्वंस नगरी महिलाको मुक्ति हुँदैन भन्ने विरोधाभासपूर्ण स्थिति स्वस्थानी व्रतकथामा देखा पर्दछ । स्वस्थानी व्रतकथा पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्माण भएको कथा भएर पनि स्त्री देवता स्वस्थानी माताको पूजामा केन्द्रित भएको छ ।
स्त्रीलाई देव शक्तिका रूपमा पुज्न मानेको छ पितृसत्ताले । यसबाट पितृसत्तावादी व्याख्यासँग स्वस्थानी व्रतकथा सादृश्य नहुने देखिन्छ भने अर्कोतर्पm पितृसत्ताले लादेको पतिव्रता, आफूले मन नपराएको व्यक्तिसँग विवाह गर्न बाध्य पारिएका प्रसङ्गले पितृसत्ता भएका कारण महिलाले त्यो परिस्थिति सहन बाध्य भएको तथ्य पनि देख्न सकिन्छ तर पितृसत्ताले व्याख्या गरे जस्तो पितृसत्तात्मक समाजमा महिला सधैँ अपमानित हुन्छन् भन्ने धारणालाई स्वस्थानी व्रतकथाभित्रका घटनाले चुनौती दिँदै झन् पितृसत्तात्मक समाजका व्यवस्थामा मातृशक्तिको आराधना गरिएको दृश्य देखाइएको छ ।
समकालीन परिवेशमा शास्त्रगत व्याख्यालाई त्यस शास्त्रले जुन समय तथा कालखण्डको प्रतिनिधित्व गर्छ वा त्यस शास्त्रगत ज्ञान कुन समाज व्यवस्थाले उत्पादन गरेको ज्ञान हो त ? भनेर त्यसलाई ऐतिहासिक जगमा राखेर बुझ्ने प्रयत्न नगर्दा त्यसको विश्लेषण अर्थपूर्ण बन्न सक्दैन । अर्कोतर्फ त्यसको ऐतिहासिक जगसहित सामाजिक ज्ञान निर्माणको शृङ्खला नखोजी धेरै वर्षपछि अहिले आएर त्यसबेलाको सन्दर्भलाई लिएर वर्तमानको आँखा र चेतले विश्लेषण गर्दा शास्त्रप्रति न्याय हुँदैन ।
सयौँ वर्षअघिको युग चेतनाले निर्माण गरेको शास्त्रगत ज्ञानको समय सन्दर्भ नबुझी अहिलेको आधुनिक युग चेतनाको क्षितिजमा टेकेर त्यसको विश्लेषण गर्न खोज्दा विश्लेषण आग्रही र अपूरो बन्न जाने खतरा रहिरहन्छ । स्वस्थानी व्रतकथाको विश्लेषणको सन्दर्भमा पनि यही मान्यता लागु हुन्छ ।
–युवामञ्च