मुगु समाचारदाता
मुगु, पुस २४ गते । मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । स्थानीय सरकारले सङ्घीय सरकारसँग तामाखानीको अन्वेषण तथा उत्खननका लागि पटक पटक माग गरिरहन्छ तर कुनै सुनुवाइ हुन सकेको छैन ।
सङ्घीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशामा बसेका जनता सरकारले यसबारे पहल नगर्दा तामाखानी उत्खनन गर्ने सपनामा मात्र सीमित हुन पुगेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका–१, डोल्फुगाउँदेखि पाँच घण्टा टाढा नाम्लाङखोला क्षेत्रको पालाङ्जे, इटिङ र थोङ्वा भन्ने तीन स्थानमा पूरै पहाड नै तामाखानी भएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय बासिन्दा टुन्डुल लामाले तामाखानीको अन्वेषण र उत्खननका लागि पटक पटका माग गर्दा पनि सङ्घीय सरकारले सुनुवाइ नगरेको बताउनुहुन्छ ।
स्थानीय पाल्जुकार्मा लामाका अनुसार चार दशकपहिले डोल्फुगाउँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाँडा बनाएर जिल्लाका विभिन्न ठाउँमा बेच्ने गर्दथे । उहाँले तामाखानीको उत्खननबारे कुनै पहल नभएकोमा दुःखेसो पोख्नुभयो । उहाँका अनुसार यहाँ नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छन् । छायानाथ रारा नगरपालिका–११ का स्थानीय सर्जन बुढाले पनि पहिले यहीँको तामा उत्खनन गरी दोल्फुका लामा जातिका मानिस स्थानीय परम्परागत प्रविधिबाट तामाका ताउला, गाग्री, हुँडा, खँड्कुला बनाउने गरेको बताउनुभयो । उहाँले त्यहीँको तामाबाट बनेका सामग्री मुगुलगायत हुम्ला, डोल्पा, कालीकोट र जुम्लामा बिक्री गर्ने गरेको स्मरण गर्नुभयो । त्यतिबेला मुगुका भोटेले स्थानीय तामाबाट बनाएका गाग्री अहिले आफ्ना घरमा पनि रहेको बताउँदै उहाँले यहाँको तामा भारतको तामाभन्दा अब्बल रहेको दाबी गर्नुभयो । कर्णाली प्रदेशकै सम्पत्ति भएकाले तामाखानी उत्खननमा प्रदेश र सङ्घीय सरकारले चासो नदिएको आरोप मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगाउनुहुन्छ । उहाँले मुगुको तामाखानीलाई राज्यले उत्खननमा प्राथमिकता नदिँदा जिल्लाका युवा रोजगारीबाट वञ्चित हुनुका साथै खानीबारे प्रचारप्रसार पनि नभएको जनाउनुहुन्छ । मुगुको तामाखानी उत्खनन गर्नमा सरकारले कुनै ध्यान दिएको छैन भन्दै उहाँले नभएको ठाउँमा मात्र सरकारको ध्यान जाने गरेको उल्लेख गर्नुभयो ।
६० वर्षअगाडिको तत्कालीन समयमा तामा उत्खनन गरी स्थानीय प्रविधि अनुसार प्रशोधन गरी विभिन्न भाँडाकुँडा बनाउने र बेच्ने व्यवसाय बनिसकेको थियो । त्यसको केही पछि सरकारले तामा उत्खननमा रोक लगाएपछि दोल्फुका लामाको तामाबाट गरिखाने व्यवसाय नै सङ्कटमा परेको थियो । सन् १९७५ देखि सरकारले डोल्फुको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय समाजसेवी ग्याल्जो लामाले बताउनुभयो । गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भूगर्भ विभागमा लिखित तथा मौखिक रूपमा आग्रह गर्दै आएको पालिकाले जनाएको छ । गत माघ ३ गते मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाको नेतृत्वमा सङ्घीय सरकारमातहतमा रहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रूपमा खानी अन्वेषण गरी उत्खननको माग गरेको पालिकाका उपाध्यक्ष छिरिङ फुटिङ लामाले बताउनुभयो । उहाँका अनुसार महानिर्देशक घिमिरेले पनि तामाखानी अन्वेषणका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर अहिलेसम्म कुनै पहल भएको छैन ।