• २५ पुस २०८२, शुक्रबार

‘किवीको जुस’ले बजार नपाउँदा किसान चिन्तित

blog

‘किबीको जुस’ देखाउँदै ताराखोलाका उद्यमी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस २४ गते ।
जैविक गाउँको पहिचान बनाएको ताराखोला गाउँपालिका–३ को हिलस्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्व किसानको बारीभरी किवी लटरम्म फलेका छन् । पाँच वर्षदेखि किबी खेतीमा रमाएको समूहले गत वर्षदेखि ‘किबीको जुस’ उत्पादनमा लागेको छ । तर सोँचे जस्तो बिक्री नहुँदा किसान चिन्तित भएका छन् । 

बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि समूहले जुस उत्पादनमा लागेको थियो । कतिपय क्रेटमा राखेर गलकोट, बागलुङ बजार र पोखरासम्म बिक्री भए पनि सोँचे जस्तो बजार पाउन नसकेको समूहका कोषाध्यक्ष भवि रोकाले गुनासो गर्नुभयो । ‘‘मुख्य बजारको खोजी र जुस बिक्री गरेर आम्दानी भित्र्याउन चुनौती छ’’ रोकाले भन्नुभयो ।

बजार पाएमा जुस उत्पादनलाई बढाउने समूहको लक्ष्य छ । तर समूहको उत्पादनलाई बजारीकरणमा साथ दिने कोही नभएको रोकाले बताउनुभयो । सोचे जस्तो बजार नपाउँदा उत्पादित जुस गोदाममा थन्क्याउनुपरेको रोकाले दुखेसो सुनाउनुभयो । ‘‘जुस उत्पादनका लागि गाउँपालिकाले लगानी गरिदिएको छ भने किसानले पनि लगानी थपेका छन्’’ रोकाले भन्नुभयो, ‘‘उत्पादनलाई जोगाउन चिस्याउन केन्द्रको आवश्यक छ ।’’

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्ती र प्रशिक्षक विष्णुमाया कण्डम्बाले तालिम दिएपछि किसान किबीको जुस उत्पादनमा जोडिएका हुन् । सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किबीको जुस बनाउन थालिएको रोकाले बताउनुभयो । 

तत्कालका लागि गाउँपालिकाको सहयोगमा लेवल बनेर उपयोगमा आएको छ । उत्पादनका लागि बोतल, डिब्बा, क्रेट लगायतका स–साना सामग्रीमा किसानले लगानी गरेका छन् । किबीलाई पखाल्ने, छिलेर बोक्रा छुट्टयाउने, मिस्करमा पिसेर छान्ने, पानी राखेर पकाउने, आवश्यकता अनुसार चिनी र नबिग्रने औषधी प्रयोग गर्ने गरेपछि जुस तयार बन्छ ।

मानव स्वासथ्यका लागि किबीको जुस उपयोगी भएको कृषि प्राविधिक बताउनुहुन्छ । तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारन गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको उद्यम विकास सहजकर्ता निरु घर्तीले बताउनुभयो । तीन लाख रुपियाँमा जुस पेल्ने मेसिन गाउँपालिकाले दिएको छ । त्यसमा कृषि समूहले थप एक लाख रुपियाँ लगानी गरेको समूहका सदस्य देउकुमारी रोकाले बताउनुभयो ।

समूहले यो वर्ष मात्रै एक हजारभन्दा बढी बोतल जुस उत्पादन गरिसकेको छ । आधा लिटर र एक चौथाई लिटरका बोतलमा जुस बजारमा ल्याइएको हो । बागलुङ महोत्सवमा समूहले ‘मेड इन बागलुङ’को स्टलमा किबीको जुस बिक्री गरेको थियो । महोत्सवमा मात्रै झण्डै चार सय ५० लिटर जुस बिक्री भएको रोकाले बताउनुभयो । हजारौं लिटर उत्पादनको क्षमता भए पनि बजारीकरणको समस्या भएको उहाँको भनाइ छ । किसानले उत्पादन बढाउँदै लगेपछि पालिकाले बजारीकरणमा व्यवसायी र कृषि कार्यालयसँग समन्वय गरिरहेको छ ।