कालीकोट, पुस २४ गते । आगामी फागुक २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोट जिल्लाबाट नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को एकल उम्मेदवार सिफारिस हुनुभएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि उहाँको एकल उम्मेदवार सिफारिस भएको हो ।
विप्लव नेतृत्वको नेकपा कालीकोट जिल्ला समितिको विशेष बैठकले पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्मालाई एकल उम्मेदवार सिफारिस गरेको हो । प्रवक्ता प्रकाण्ड श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवार र कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेता भएकाले प्रत्यक्षतर्फको एकल उम्मेदवारमा सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
नेकपा माओवादीका कालीकोट जिल्ला इन्चार्ज विवेक कुमालले अन्तरिम सरकारदेखि २०६४ को संविधान सभा निर्वाचन पछि दुई पटक मन्त्री बनिसक्नुभएका र कर्णाली प्रदेशकै माओवादी आन्दोलनको नेतृत्व भएकाले उहाँको नाम सिफारिस गर्दा कसैले पनि दाबी नगरेको बताउनुभयो । तत्कालीन नेकपा माओवादी र सात राजनीति दलबिचको १२ बुँदे सम्झौता विस्तृत शान्ति सम्झौतापछि बनेको अन्तरिम सरकारमा प्रवक्ता विश्वकर्मा महिला बालबालिका मन्त्री बन्नुभएको थियो ।
२०६४ को पहिलो संविधान सभा चुनावमा कालीकोटबाट २७ हजारभन्दा बढी मत ल्याएर विजयी भएपछि प्रचण्ड नेतृत्वको सरकारमा पुनः नागरिक उड्डयान तथा पर्यटन मन्त्री पनि बन्नुभएको थियो ।