• २५ पुस २०८२, शुक्रबार

दस लाखको अक्षय कोष स्थापना

blog

पूर्व जर्नेल निरन्जन बस्नेतले वडाध्यक्ष विनोद तमाङको उपस्थितिमा अक्षय कोषका लागि विद्यालयलाई १० लाखको चेक हस्तान्तरण गर्नुभयो । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, पुस २३ गते ।
दोलखाको भीमेश्वर नगरपालिकमा–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयमा स्थानीय सामाजिक अभियन्ता बुबा लिलाबहादुर र आमा शिवमाया बस्नेतका नाममा पूर्व कर्णेल निरन्जन बस्नेतले शिवलिला आशिर्वाद नामबाट दस लाख रुपियाँको अक्षय कोष स्थापना गरिदिनुभएको छ ।

आफ्ना बुबा–आमाको नाममा स्थापना गरिएको शिवलिला आशीर्वाद नामको अक्षय कोषले पूर्वजप्रतिको सम्मान र गाउँको विद्यालयलाई केही सहयोग पुग्ने वडा नम्बर– ७ मकैवारीका पूर्व कर्णेल बस्नेत बताउनुभयो ।

उहाँका अनुसार कोषमा वंशवृक्षका व्यक्तिबाट रकम थप गर्दै लगिने लक्ष्य रहेकाले शिवलिलाका अन्य सन्तानले पनि कोषमा रकम थप गर्न सक्ने र त्यसले विद्यालयलाई सहयोग पुग्नेछ ।

वडा नम्बर–७ मकैवारी पूर्व कर्णेल निरन्जन बस्नेतको जन्मथलो हो । उहाँका बुबा लिलाबहादुर तत्कालीन मकैवारी गाउँपञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । प्रधानमञ्चको रुपमा उहाँले मकैवारीमा विकास निर्माण, सामाजिक अभियानलगायतका धेरै राम्रा काम गर्नु भएको थियो ।

यो अक्षय कोषबाट प्राप्त व्याजको रकमले विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत वडा नम्बर– ७ का असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने वस्नेतले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

विद्यालयमा स्थापना गरिएको शिवलिला आशीर्वाद अक्षय कोषले वडा नम्बर– ७ को शैक्षिक विकासमा टेवा पुग्नेछ । पूर्व कर्णेल निरन्जन बस्नेत परिवारले गरेको सहयोग वडावासीका लागि सधैँ स्मरणीय रहने विद्यालयका प्रधानाध्यापक ईश्वर चौलागाईँले बताउनुभयो ।