• १८ चैत २०८२, बुधबार

उपरदाङगढीमा अब संग्राहलय

blog

ऐतिहासिक थलो उपरदाङगढी संग्राहलयमा राखिएको छ पाउण्डको तोप । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ पुस २४ गते ।
ऐतिहासिक थलो उपरदाङगढी संग्राहलय बनेको छ । नेपाली सेनाले उपरदाङगढीमा संग्राहलय निर्माणका लागि ऐतिहासिक हातहतियारहरु सहयोग गरेपछि त्यहाँ संग्राहलय सञ्चालनमा ल्याइएको हो । संग्रालयको व्यवस्थापन इच्छाकामना गाउँपालिकाले गरेको छ ।  

नेपाली सेनाको नयाँ सवुज गढ भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाले सेनाले गढीको गरिमा जोगाउन र पर्यटन प्रवर्धनका लागि टेवा पुर्‍याउन संग्राहलय निर्माणमा ऐतिहासिक हातहतियार उपलब्ध गराएको जानकारी दिनुभयो ।

“संग्राहलयका लागि हामीले छ पाउण्डको तोप एक थान, किटको गोला पँचास गोटा, भरुवा बन्दूक दुई नाल, छालाको ढाल एक थान, तरवार दुई  थान, खुकुरी छ वटा र खुडाँ एक थान उपलब्ध गराएका छौँ”, प्रमुख सेनानी लामाले भन्नुभयो ।

उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सेन वंशीय राजा मणिमुकुन्दसेनले निर्माण गरेको यो गढी शाह वंशीय राजतन्त्रका बेलाबहादुर शाहको नायवीमा यसको थप मर्मत सुधार गरिएको थियो । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभन्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ । जानकारहरु यहि क्षेत्रबाट अग्रेजका सेनालाई नेपाली सेनाले युद्धमा लखेट्न सफल भएको बताउछन् । त्यहाँ रहेको कोतघरलाई नै सग्राहलयका रुपमा विकास गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा रहेको गढीमा पुराना हातहतियारहरु प्रदर्शनमा राखिएपछि इतिहासमा रुचि राख्नेहरुका लागि आर्कषण बन्ने देखिन्छ ।

यसैबिच सो संग्राहलय तथा कोतघरको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । इच्छाकमना गाउँपालिकाको आयोजनामा भएको उद्घाटन कार्यक्रममा नेपाली सेनाका मध्य क्षेत्र पृतना हेड क्वाटर हेटौँडाका पृतनापति उपरथि विष्णुकुमार खड्काले सो उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले गढीको जीर्णोद्धार गर्दै कोतघर बत्रनाउदा मौलिक पन दिइएकाले पर्यटकका लागि आर्कषण केन्द्र बन्ने बताउनुभयो ।

उहाँले यस्ता सम्पदाहरुको संरक्षणमा विभाग लागि रहेको जानकारी पनि दिनुभयो । सो अवसरमा बोल्दै ईच्छा कामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले एक करोड ८३ लाख रुपियाँको लगानीमा कोतघर बनाइएको जानकारी दिनुभयो । जुन कोतघरमै अहिले संग्राहलयमा विस्तार भएको हो ।

“खण्डहर बन्दै गएको ऐतिहासिक थलो उपरदाङगढी अहिले संरक्षण गर्न पहल गरिएसँगै पर्यटकहरुको आवगमन पनि बढ्न थालेको छ”, उहाँले भन्नुभयो ।