देशको शासन सञ्चालन गर्ने मुख्य जिम्मेवारी राजनीतिक नेतृत्वमा रहेको हुन्छ । राजनीतिक मूल्यमान्यताको अवमूल्यन नगरी राजनीति गर्नु प्रत्येक राजनीतिज्ञको धर्म हो । जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तरर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति राजनीति हो । नैतिक दृष्टिले हेरिने राम्रो नराम्रो व्यवहार आचरण हो । असल आचरण नीतिसँग सम्बन्धित तथ्य नैतिकता हो । नेपालको संविधानमा राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने राज्यको राजनीतिक नीति हुने बारेमा स्पष्ट गरिएको छ । मुलुकको राजनीतिमा राजनीतिक मूल्यमान्यता एवं राज्यको नीति अनुकूलको आचरण नभएका कारण मुलुकमा सुशासन कायम हुन सकेको छैन । जसबाट राजनीतिक अस्थिरता, शासन पद्धतिको विरोध, सरकारका विरुद्धमा धर्ना, जुलुस, आन्दोलन लगायतका कार्य निरन्तर हुँदै आएको छ । यसबाट अन्योल, अराजकता, असुरक्षा र अन्तरद्वन्द्व बढेकाले राष्ट्रिय एकता र भाइचारामा खलल पुग्ने जोखिम बढेको छ ।
जनताको मताधिकारबाट शासनको जिम्मेवारीमा पुगेका राजनीतिक नेतृत्वबाट जनताको विश्वास र अपेक्षा अनुरूप कार्य हुन सकेको छैन । राष्ट्र र जनताको सेवाका लागि निर्वाचित गराउन जनताको विश्वास लिने तर निर्वाचित भई जिम्मेवारीमा रहँदा सो अनुरूपको आचरण पालना नगर्ने प्रवृत्ति कायमै रहेको छ । झुटो नबोल्नु, अरूलाई हानि नगर्नु, नचोर्नु, हत्या हिंसा नगर्नु, अरूलाई सम्मान गर्नु, वचन र प्रतिबद्धताको अनुसरण गर्नु, प्रेम र दयाभाव राख्नु, गलत कामको विरोधको मर्यादा गर्नु नैतिकताका आधारभूत मान्यता हुन् । नैतिक आचरणको मूल्यमान्यताको बेवास्ता भएका कारण मुलुकको राजनीतिक नेतृत्वमा रहने व्यक्ति जनताको विश्वासको पात्र हुन सकेका छैनन् । नैतिक आचरण मजबुत हुन नसकेका कारण जनतामा राजनीतिक क्षेत्रमा नैतिक अनुशासन खोजेर पाइँदैन भन्ने भाष्य गहिरिँदै गएको छ । सार्वजनिक दायित्वप्रतिको प्रतिबद्धता र सोप्रतिको कार्य अग्रसरता, काम र व्यवहारमा इमानदारिता, सार्वजनिक पदमा रहँदा व्यक्तिगत स्वार्थमा लिप्त नहुने, काम र व्यवहारको पारदर्शिता, तथ्य र प्रमाणको अनुसरण, काममा निष्पक्षता जस्ता नैतिक मान्यताका आधारलाई राजनीतिक क्षेत्रमा आन्तरिकीकरण गर्न सकिएको छैन । यसका कारण मुलुकको राजनीतिक क्षेत्र जनताको विश्वासिलो र प्रिय हुन सकेन ।
दशकौँयता मुलुकको राजनीतिक क्षेत्रमा प्रशस्त नैतिक प्रश्न खडा हुँदै आएका छन् । सत्ता प्राप्तिका लागि राजनीतिक दलबिच दलीय सिद्धान्त, मूल्यमान्यताका विपरीत राजनीतिक प्रतिष्ठाको अवमूल्यन हुने अप्राकृतिक चुनावी गठबन्धन हुनु, निर्वाचनको आचारसंहिता विपरीत निर्वाचनलाई अत्यधिक खर्चिलो र महँगो गराई जनताको मतलाई प्रभाव पार्नु, शक्ति र पहुँच देखाई मतदान केन्द्रहरू कब्जा गरी मताधिकारको स्वतन्त्रतालाई अतिक्रमण गर्नु, मतपरिणामको पूर्वअनुमान गरी मतदानको कार्यलाई बिथोल्नुलगायतका नैतिक आचरणका प्रश्न आज पनि छन् । प्रशासनिक संयन्त्रलाई प्रभावमा राखी सार्वजनिक सम्पत्ति व्यक्ति वा समूहका नाममा ल्याउने, प्राकृतिक सम्पत्तिको दुरुपयोग गर्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी हुने, बिचौलिया, ठेकेदारबाट हुने गरेका गैरकानुनी कार्यको संरक्षण गर्ने, ठुला सार्वजनिक खरिदमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भर्ई ठुला कमिसन एवं भ्रष्टाचार गर्न गराउन सव्रिmय हुने प्रवृत्तिले समेत राजनीतिक आचरणमा प्रश्न उठेका छन् । शासकीय शक्तिको दुरुपयोग गरी ठुला भ्रष्टाचारका कार्यलाई छिपाउने उद्देश्यले आयोग बनाई आफू अनुकूलको प्रतिवेदन तयार गरी भ्रष्टाचारीलाई जोगाउने प्रवृत्तिमा सुधार आउन सकेको छैन । सङ्घीय तहदेखि स्थानीय तहसम्मको राजनीतिक क्षेत्रमा भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने प्रवृत्तिमा कमी नआएका कारण यस क्षेत्रमा नैतिक आचरणको प्रश्न उत्पन्न भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलका पदाधिकारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्न नहुने, राज्यद्रोह गर्न नहुने, नागरिकबिच विभेद गर्न नहुने, हिंसात्मक कार्य गर्न नहुने, सार्वजनिक नैतिकताको प्रतिकूल कार्य गर्न नहुने, अधिकार प्राप्त अधिकारीको पूर्वस्वीकृतिबिना कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्न नहुने, सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पत्तिको तोडफोड, हानी नोक्सानी वा क्षति पु¥याउन नहुने स्पष्ट व्यवस्था गरेको छ । साथै राजनीतिक दलका विधानमा समेत राजनीतिक क्षेत्रका जिम्मेवार पदाधिकारीले राष्ट्र र जनताको हितविपरीतको कार्य गर्न नहुने र निरन्तर आचरण एवं नैतिक अनुशासनमा रहनुपर्ने व्यवस्था गरेको छ । राजनीतिक दलका शीर्ष पुस्ताले नेतृत्वमा रहँदा मौजुदा कानुनी व्यवस्थाको पालना र नैतिक आचरणको अभ्यास गर्ने संस्कार नदेखाएका कारण पछिल्लो पुस्तामा समेत यसतर्फको उदासीनता झल्किने गरेको छ । नवीन सोच, जाँगर र आयाम बोकेका युवा पुस्तालाई जिम्मेवारी नदिने, सेवा सुविधा एवं अवसरमा नातावाद एवं कृपावादलाई महìव दिने, समानुपातिक निर्वाचनमा पटक पटक अवसर पाएका केन्द्रीयस्तरका उच्च नेता आफैँ वा नेतृत्वका आफ्ना परिवारलाई अवसर लिने दिने, राजनीतिक नियु्क्तिमा क्षमतालाई भन्दा राजनीतिक रङलाई प्राथमिकता दिने, कानुनमा व्यवस्था नभएका सेवा सुविधाको उपयोग गर्ने गराउने प्रकृतिका गलत आचरणसमेत कायमै रहेका छन् ।
निर्वाचनमा उम्मेदवार चयन गर्दा योगदानका आधारमा योग्य व्यक्तिलाई भन्दा आफ्ना गुटका र नेतृत्वलाई खुसी पार्न सक्ने व्यक्तिलाई छान्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन । दलभित्रको गुटबन्दीका आधारमा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्ने, फरक विचार भएका योग्य व्यक्तिलाई व्यक्तिगत शत्रुको कित्तामा राखी पाखा लगाउने, नयाँ सोच र विचार भएका व्यक्ति समूह वा पुस्तालाई नेतृत्वमा अवसर नदिने निरङ्कुशवादी सोच र व्यवहार कायमै भएका कारण पुराना दलमा अन्तरकलह बढ्दै गएको छ । व्यक्तिका लागि प्रचलित कानुनको भावनाविपरीत गलत व्याख्या गर्ने गराउने, विधि, विधान, कानुनको अस्वस्थ एवं असान्दर्भिक संशोधन गर्ने गराउने, गलत कार्यको विरोध नगरी मौन बस्ने प्रवृतिगत संस्कारले राजनीतिक क्षेत्रको प्रजातान्त्रिक आवरण खुइलिँदै गएको आभास भएको छ ।
राजनीतिक दलका जिम्मेवार व्यक्तिबाटै महिला हिंसा, ठगी, तोडफोड, गुण्डागर्दीलगायत विकृतपूर्ण कार्य हुनु र यस्ता अपराधजन्य कार्यविरुद्धका कारबाहीलाई निष्क्रिय गराउन दलको नेतृत्व तह प्रत्यक्ष अप्रत्यक्ष रूपमा सक्रिय हुनु राजनीतिक क्षेत्रको अर्को आचरणविरुद्धको उदाहरण हो । यस्ता गलत आचरणका कार्यबाट जनतासामु राजनीतिक मूल्यमान्यता र निष्ठा कायम हुन नसक्ने तथ्य स्पष्ट छ । पुराना राजनीतिक दल एवं पुरानो पुस्ताको राजनीतिक नेतृत्व आचरण पालनामा उदासीन हुँदा राजनीतिक क्षेत्रको विश्वास कमजोर भएको छ । यसबाट बढ्दै जाने वितृष्णा, विरोध, अन्तरकलहले मुलुकको समग्र शान्ति सुरक्षा एवं समृद्धिमा आघात पुग्ने सहज अनुमान गर्न सकिन्छ । त्यसैले प्रमुख राजनीतिक दलका पुरानो नेतृत्व एवं नयाँ राजनीतिक दलका नयाँ नेतृत्वले सामूहिक रूपमा राजनीतिक आचरण पालनाको संस्कार विकास गर्नु जरुरी छ ।
सङ्घीयताको भावना र उद्देश्य अनुरूप प्रदेश तथा स्थानीयस्तरसम्म राजनीतिक एवं प्रशासनिक अधिकारको प्रत्यायोजन गर्ने कार्यमा राजनीतिक नेतृत्व प्रतिबद्ध र अग्रसर हुन सकेन । राजनीतिक नेतृत्वले प्रदेश संरचनामा राजनीतिक प्रतिनिधित्व गराउने कार्यमा जाँगर देखाएको भए पनि आधारभूत कानुनी एवं प्रशासनिक संरचना तयार गरी सङ्घीयतालाई संस्थागत गर्न उल्लेखनीय जिम्मेवारी निर्वाह हुन नसकेको गुनासो छ । प्रदेश संरचनाबाट मुलुकको प्रशासनिक खर्च धान्नै नसक्ने गरी बढेको तर जनताको आर्थिक एवं सामाजिक जीवनस्तर सुधारमा टेवा पुग्न नसकेकाले राजनीतिक नेतृत्वको प्रादेशिक शासन व्यवस्थाको सोच एवं अवधारणा बुद्धिमतापूर्ण नभएको गुनासासमेत छन् । सङ्घीय तहका प्रमुख राजनीतिक दलको नेतृत्वले आफ्नो सोच र चाहना अनुरूप प्रदेशको राजनीतिक संरचना र शासन सञ्चालन गर्ने गराउने प्रवृत्तिले सङ्घीय शासन व्यवस्थाको भावना अनुरूपको आचरण पालना हुन नसकेको देखिएको छ । साथै सङ्घीय तहदेखि स्थानीय तहसम्मको राजनीतिमा सार्वजनिक पदमा रहँदा गरेका कार्यको जवाफदेहिता नलिने, कमजोर जिम्मेवारी एवं विवादित कार्यको विरुद्धमा जनआवाज चर्को हुँदासमेत नैतिकताको आधारमा राजीनामा नगर्ने प्रवृत्ति रहेकाले समेत राजनीतिक क्षेत्रको नैतिक आचरण कमजोर रहेको पुष्टि गरेको छ ।
राजनीतिक नेतृत्वमा इमानदार, स्वच्छ, राष्ट्रप्रेमी र विवेकशील व्यक्ति हुँदा नैतिक अनुशासन स्वाभाविक रूपमा कायम हुन सक्छ । प्रमुख राजनीतिक दलको पुरानो नेतृत्वमा लोकतान्त्रिक प्रणालीको अभ्यास अपेक्षित रूपमा प्रभावकारी हुन नसकेका गुनासा छन् । सानादेखि ठुला राजनीतिक दलमा चुनावको समयमा जनहितका कार्यको प्रशस्त आश्वासन दिने तर चुनावपश्चात्को जिम्मेवारीमा उदासीन हुने संस्कार कायमै रहेको छ । दलीय एवं शासकीय नेतृत्वले कानुनी शासन, पारदर्शिता, इमानदारिता, निष्पक्षता, जवाफदेहितालगायतका आधारभूत कुरालाई आफ्नो व्यवहारमा आन्तरिकीकरण गर्न नसकेकाले नैतिक आचरणको अभ्यास हुन नसकेको हो । काम, क्रोध, लोभ र मोह यी मानिसका जन्मजात गुण भए पनि राजनीतिक नेतृत्वको उद्देश्य राष्ट्र र जनताको सेवा भएकाले यी स्वभावबाट नेतृत्वले आफूलाई टाढा राख्नु आवश्यक छ । मूलतः पुरानो पुस्ताले राजनीतिमा नैतिक अनुशासन एवं आचरणको अभ्यास नगरेका कारण राजनीतिक आचरणको संस्कार विकास हुन नसकेको हो । यस सन्दर्भमा नवीन सोच, जाँगर र अपिल बोकेर आएको युवापुस्तालाई नेतृत्वमा सहभागी गराउँदै नैतिक आचरणयुक्त कर्तव्यमा अभ्यस्त गराउनु जरुरी छ । यसबाट मुलुकमा राजनीतिक नैतिक आचरणको संस्कार विकास भई सुशासन कायम गर्न टेवा पुग्छ ।