गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १० कार्यालयबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ ।
गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले पुस २१ सम्म विभिन्न १० वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले धान खरिदको निर्धारित कोटा पूरा भएपछि पाँच केन्द्रबाट धान खरिद स्थगन गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी, महेन्द्रनगर, नेपालगन्ज, राजापुर र बिर्तामोड केन्द्रबाट कोटा अनुसार र कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो ।
कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी र राजापुर केन्द्रले लक्ष्यभन्दा बढी धान खरिद गरेका छन् । धनगढीमा ३५ हजार क्विन्टलको सुरुवाती कोटामा थप गरी करिब ३९ हजार क्विन्टल र राजापुरमा मोटो र मध्यम गरी करिब ३० हजार क्विन्टल धान खरिद भएको छ ।
यस वर्ष खाद्य कम्पनीले देशका विभिन्न १३ केन्द्रबाट धान खरिद गर्ने भनेकोमा लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले धान खरिद सुरु नभएका तीन केन्द्रबाट मसिना धान खरिद गरिने र त्यहाँका लागि जुटको बोरा अभाव भएर केही ढिला भएको जानकारी दिनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनका बेला लाहानको गोदाममा रहेका जुटका बोरा चोरी भएकाले अभाव भएको हो । लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र हाल विभागसँग बोराको मौज्दात कम भएकाले समस्या देखिएको छ । हाल बोरा खरिदको प्रक्रिया सुरु गरिसकेका छौँ ।
कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ । कम्पनीका विराटनगर, भैरहवा, जनकपुर, वीरगन्ज र तुलसीपुर केन्द्रबाट धान खरिद भइरहेको छ । कम्पनीका अनुसार चालु आव २०८२/८३ मा कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपियाँ बजेट छुट्याएको छ । गत वर्ष कम्पनीले सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर दुई अर्ब ६५ करोड रुपियाँ बजेट छुट्याएको थियो ।
गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । यस वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा आठ सयदेखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीले जनाएको छ । कम्पनीले औसतमा मोटा धान बजार मूल्यभन्दा आठ सय रुपियाँ र मध्यम छ सयभन्दा बढी रुपियाँमा धान खरिद गरेको जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत आचार्यले यस पटक बजार मूल्यभन्दा कम्पनीले महँगो मूल्यमा धान खरिद गर्नु परेकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मूल्य शोधभर्ना गरिदिन माग गरेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले कम्पनीलाई बजार मूल्य र कम्पनीले खरिद गरेको बिचको मूल्यको रकम उपलब्ध गराएमा कम्पनीले कोटाभन्दा बढी धान खरिद गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार धान खरिदबापतको रकम सोझै किसानको बैङ्क खातामा अनलाइन माध्यमबाट जम्मा गर्दै आएको छ ।