इलाम समाचारदाता
इलाम, पुस २४ गते । नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ । अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो ।
नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कृषि बिमासम्बन्धी अन्तर्क्रियाका सहभागीले सरकारले अपनाएको कृषि बिमासम्म जिल्लाका प्रायः जसो किसान पुग्नै नसकेको बताइएको छ ।
राष्ट्रिय किसान महासङ्घका राम मगरले कुनै पनि निर्जीवन बिमा कम्पनीहरू बाली बिमा गर्न इच्छुक नदेखिएको बताउनुभयो । “गत असोज १८ मा आएको बाढीपहिरोले इलामको कृषिक्षेत्रमा करिब २५ करोड रुपियाँको क्षति भयो । सयौँ किसानको कृषिबाली नोक्सान भयो तर किसानका लागि न राज्यले केही ग¥यो नत बिमा नै हुन सकेको थियो,” मगरले भन्नुभयो, “त्यसबेला चिया, अलैँची, खाद्यान्न, अन्नबालीमा नोक्सान भयो, बाली लगाइएको जग्गा नै बग्यो ।”
इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंले सुन्तला खेतीमा बिमा गर्न खोज्दा पनि नभएको बताउनुभयो । “सुन्तला जोगाउन किसानलाई धेरै दुःख छ, रोग र किराको चपेटामा सुन्तला पर्छ, धेरै नष्ट हुन्छ, बोट मरेर बगान नै नष्ट हुँदा किसानको लाखौँको लगानी खेर गएको छ,” चापागाईंले भन्नुभयो, “किसानले आफैँ दुःख गरेर लगानी गर्छ तर बाली नै नष्ट हुँदा सहयोग कसैबाट हुँदैन ।”
गएको विपत्लाई केन्द्रित गरेर आठ सय किसानको अवस्था अध्ययन गर्दा एक जना किसानको पनि कृषि बिमा नभएको पाइएको इलाम नगरपालिकास्थित कृषि शाखा प्रमुख उपेन्द्र न्यौपानेले बताउनुभयो । “पशु बिमा भएको छ तर कृषि बिमामा चाँहि समस्या छ । कृषिको गणना नै अप्ठ्यारो हुने भएकाले हो अथवा बिमा नीतिमै समस्या त्यो छुट्याउन जरुरी छ ।”
किवी र चिया बालीमा थोरै सङ्ख्यामा बिमा गरेको युनाइडेड अजोडका इलाम शाखा प्रमुख टीकाराम पुरीले किसानसम्म बिमा कम्पनी पुग्न समस्या रहेको बताउनुभयो । “बरु रोपनीका आधारमा हुने भएकाले चियामा बिमा सहज भयो, अरू बालीमा त्यस्तो देखिएन । सरकारले ८० प्रतिशत अनुदान दिने भने पनि बिमा कम्पनीलाई त्यो सहज छैन,” पुरीले भन्नुभयो, “सरकारले बिमा नीति नै परिवर्तन गर्न आवश्यक छ ।” पुरीले बिमित किसानले पनि कसरी बिमा दाबी गर्ने भन्ने जान्न नसकेको बताउनुभयो । बालीमा क्षति भएको प्रमाण नष्ट भइसकेपछि मात्र किसान बिमा दाबी गर्न आउने गरेको पुरीले बताउनुभयो ।
बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ लागु भए पनि यो धरै प्रभावकारी नदेखिएको कृषि ज्ञान केन्द्र प्रमुख रविकिरण अधिकारीले बताउनुभयो । “कृषि बिमा महत्वपूर्ण छ, किसानसम्म यसको पहुँच पुग्न सकेको छैन,” अधिकारीले भन्नुभयो, “अब गाउँ गाउँमा बाली बिमासम्बन्धी सचेतना आवश्यक देखियो । किसान बाली बिमामा सहभागी हुने हो भने गएको विपत्को जस्तो क्षतिमा किसानले लगानी सबै गुमाउनु पर्दैन थियो । हामी पनि किसानलाई सचेत गराउने छौँ ।”
कार्यक्रममा बिमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवले कृषि बिमाको कार्यक्रम भर्खरैदेखि लागु भएकाले यसमा बढीभन्दा बढी किसानलाई सहभागी गराउने उद्देश्य रहेको बताउनुभयो । कोशीका सबै जिल्लामा बिमाको कार्यक्रम लागु गराउने प्रदेशको लक्ष्य रहेको देवले बताउनुभयो ।