• १६ असार २०८१, आइतबार

जसपा अध्यक्ष भट्टराई पक्षको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदै

blog

काठमाडौं, असार २८ गते । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टै बैठक काठमाडौंमा शुरू भएकाे छ । बैठकमा पार्टीको कमीकमजोरी र के–के त्रुटि भए भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

“राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । कहाँ–कहाँ त्रुटि भए समीक्षा गर्नेछौँ । सुझाव, सल्लाहका आधारमा अगाडि बढ्नेछौँ । अहिले यही गर्छौँ भन्ने छैन, ठीक दिशामा गएका छौँ कि छैनौँ भन्ने यहाँहरुले आलोचनात्मक सुझाव दिनुहोला”, भट्टराईले भन्नुभयो । 

वि.सं. २०७२ सालमा संविधान जारी हुँदा नै त्यो संविधान आधा गिलास भरी र आधा खाली रहेको टिप्पणी आफूले गरेकाे स्मरण गर्नुहुँदै उहाँले वैकल्पिक पार्टी र विचार निर्माण गर्ने उद्देश्यले जसपा गठन गरिएको बताउनुभयो । तर, वैकल्पिक भनिएको पार्टीमा समेत अन्य दलहरुमा जस्तो स्वेच्छाचारी र आसेपासे प्रवृत्ति हाबी भएको उहाँले आरोप लगाउनुभयो ।

“रामे भए पनि नराम्रो भए पनि नेपाली जनताले बनाएको पहिलो संविधान थियो, त्यो । तर, देशका विभिन्न जाति, भाषा, क्षेत्रका समुदायको संविधानतः ती अधिकारको  सङ्घीय राज्य स्थापना भएको थिएन”, उहाँले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित कार्यकारी ग¥यौं भने स्थायित्व दिन्छ । मूल मर्म सङ्घीयता र सुशासन कायम गर्दै समृद्धिमा पुग्ने गरी अघि बढ्नुपर्छ । कसैले यो बैठक अवैध भन्छ भने त्याे इतिहासलाई बङ्गाएर कुरा हो ।”

कुनै छलफल नै नगरी अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएको र त्यो बैठक तुरुन्तै स्थगित गरेर अर्को बैठक आव्हान गर्न उहाँले माग राख्नुभयाे । पार्टीलाई रुपान्तरण र पुनर्गठन गरे देशको प्रमुख शक्तिको रुपमा अगाडि बढाउने लक्ष्य रहेको पनि उहाँले धारणा राख्नुभयो ।