• २२ पुस २०८२, मङ्गलबार

पुस १४ देखि हराएकी महिला मृत फेला

blog

मृतक भेटिनुभएको ७१ वर्षीय कृष्णी घर्ती । तस्बिर : शंकर केसी

शङ्कर केसी
सल्यान, पुस २१ गते ।
सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उहाँका छोरा गोपाल घर्ती र अन्य गाउँलेहरूले खोजतलासका क्रममा कपुरकोट–४ खामे लेक, थर्कोट नजिकमा फेला पारेका थिए । कपुरकोट–४ का वडा अध्यक्ष मित्र कठायतका अनुसार पुस १४ गतेदेखि कृष्णी घरबाटै हराउनुभएको थियो ।  खोजीको क्रममा घरपरिवार र स्थानीयले अचेत अवस्थामा फेला परेको भन्दै प्रहरी चौकी कपुरकोटमा खबर गरेका थिए ।

त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरी निरीक्षक गोपाल वलीको कमाण्डमा खटिएको टोलीले उहाँलाई मृत फेला परेको पुष्टि गरेको थियो । स्थानीयका अनुसार उहाँ फेला परेको स्थानको केही माथि डाँडोमा स्वीटर भेटिएको थियो ।

प्रहरीका अनुसार मृतक कृष्णीको मानसिक अवस्था पहिलेदेखि नै ठिक नभएको बुझिएको छ । प्रहरीले घटनाको थप विवरण सङ्कलन गर्दै अनुसन्धान अघि बढाएको छ ।