कविराज घिमिरे
हिले, पुस २१ गते । कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो ।
उत्कृष्ट भइ सम्मानित हुने ६५ रोपनी क्षेत्रफलमा १७७ मुरी धान उत्पादन गरी प्रथम हुने धनकुटाको चौबिसे गाउँपालिका–५ सदमटारका यम लिम्बू रहनुभएको छ । त्यस्तै १२ रोपनी क्षेत्रफलमा ९ वटा ग्रीन हाउस हाइटेक टलेलमा व्यावसायिक तरकारी खेती गर्ने छथर जोरपाटी गाउँपालिका–५, स्थित बोक्रेकी डेगमाया लिम्बू द्वितीय र ८० रोपनी क्षेत्रफलमा अलैंची खेती गरी तृतीय हुने पाख्रीबास नगरपालिका–९, स्थित लिसुम्बाका हरिभक्त राईलाई क्रमस पाँच हजार, चार हजार र तीन हजार रुपियाँ नगदसहित सम्मान गरिएको थियो ।
यस्तै, सान्त्वना हुनेहरुमा साँगुरीगढी गाउँपालिका–२, का लक्षिन्ध्वज लिम्बू, धनकुटा नगरपालिका–८ का रत्नबहादुर राई, सहिदभूमि गाउँपालिका–६ का गङ्गाराम राई र महालक्ष्मी नगरपालिका–४ का दिर्गबहादुर पौडेल रहनुभएको छ । उहाँहरुलाई जनही दुई हजार र सम्मान पत्र प्रदान गरिएको छ । उहाँहरुलाई केन्द्रको आ.व २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट कृषक सम्मानबाट सम्मानित गरिएको केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।